
विराटनगर । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूलाई नधम्क्याउन सांसदहरूलाई आग्रह गरेका छन् ।
अधिकांश सांसदहरूले प्रदेशको बजेटमाथिको छलफलका क्रममा मन्त्री मण्डलले आफ्नो क्षेत्र र जिल्लामा बजेट खन्याएको बताएका थिए । त्यसबारे बुधबारको बैठकमा जवाफ दिँदै मण्डलले आफू धेरैपटक जेलनेल बसेको व्यक्ति भएको बताए ।
‘‘कांग्रेसको खत्तम मानिस भनेर औँलो नदेखाउनुहोस् । सम्मानित हिसाबले हेर्ने प्रयास गरौँ । मैले सानो बजेट लाँदैमा म खराब हो ? पहिले पनि मन्त्रीहरूले बजेट लगेको होइन । यो प्रस्तुति कसैको हकमा राम्रो हुँदैन,’’ उनले भने ।
मन्त्रालयतर्फ प्रदेश सरकारको दुई अर्ब ४० करोड र संघको सरकारको समेत गरेर दुई अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
‘‘मलाई धम्क्याउने प्रयास नगरियोस्, ममात्र होइन । धेरै मन्त्रीहरू हुनुहुन्छ । केही बजेट मोरो जिल्लामा जाँदैमा हाँस्य नगर्नुहोस्,’’ मन्त्री मण्डलले भने ।
उनले सुनसरीमा ६ वटै जिल्लामा कांग्रेस जितेको भन्दै सांसदहरूलाई प्रश्न गरे, "तपाईंले कति गर्नुभएको छ ? कति जिताउनुभएको छ ?"