
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बाह्रखरी अनलाइनमा हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा–१० को परीक्षाको नतिजा अब एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
एसईईको नतिजा बाह्रखरीसहित करिब १४ फर्म तथा संस्थाबाट सार्वजनिकको तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा बोर्डले सार्वजनिक गरेलगत्तै बाह्रखरी मिडियाको वेबसाइट www.12khari.com मा सिम्बोल नम्बरका आधारमा नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । कार्यालयका अनुसार, २०८१ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी सम्पूर्ण विवरण एसएमएस, आईभीआर र वेबसाइटबाट प्रकाशित गर्न लागिएको छ ।
असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी 'डेटलाइन' तयार गरिएको र कर्मचारीले 'डबल सिफ्ट'मा काम गरिरहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालित एसईईमा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए ।