
काठमाडौं । अमेरिकाले धेरै छुट र प्रोत्साहन दिएर इरानसँग परमाणु सम्झौता गरिरहेको खुलासा भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई नागरिक ऊर्जा उत्पादन गर्ने आणविक कार्यक्रम निर्माणका लागि ३० अर्ब डलरसम्म प्रदान गर्ने, प्रतिबन्धहरू हटाउने र इरानका प्रतिबन्धित बैंक खाताहरूमा रहेका अर्बौं डलर रिलिज गर्ने विषयमा छलफल गरेको सीएनएनले जनाएको छ ।
अमेरिकाको यो कदम इरानलाई वार्ताको टेबलमा फर्काउन तीव्र प्रयासको एक हिस्सा भएको यो विषयमा जानकार विभन्न स्रोतहरूले बताएको सीएनएनले जनाएको छ ।
अमेरिका र मध्यपूर्वका प्रमुख देशहरूले पछिल्लो दुई हप्तामा इरान र इजरायलमा सैन्य आक्रमण भइरहँदा पनि इरानीहरूसँग कुराकानी गरेको सीएनएनले बताएको छ ।
युद्धविराम सम्झौता भएपछि यो हप्ता पनि ती छलफलहरू जारी रहेको समाचारमा उल्लेख छ ।
ट्रम्प प्रशासनका अधिकारीहरूले धेरै प्रस्तावहरू अघि सारेको र ती प्रारम्भिक भएको र आवश्यक परे संसोधन गर्नसकिने बताइएको छ । तर, इरानले युरेनियम सम्वर्द्धन पूर्णरूपमा बन्द गर्नुपर्ने एउटा गैरसम्झौतायोग्य अमेरिकी सर्त भनेको छ ।
तर, यो नागरिक उर्जाका लागि भएको भन्दै इरानले बारम्बार आफूलाई आवश्यक रहेको बताउँदै आएको छ । कम्तीमा एउटा प्रारम्भिक मस्यौदा प्रस्तावमा इरानका लागि धेरै सहुलियतहरू प्रस्ताव गरिएको समाचारमा उल्लेख छ ।
ती मस्यौदाहरू गत शुक्रबार अमेरिकी सैन्य आक्रमणको अघिल्लो दिन, ह्वाइट हाउसमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र खाडीका साझेदारहरूबीच भएको गोप्य घण्टौँ लामो बैठकमा तयार पारिएको बताइएको छ ।
छलफल भइरहेका सर्तहरूमध्ये नागरिक ऊर्जा प्रयोजनका लागि प्रयोग हुने इरानको नयाँ आणविक कार्यक्रममा अनुमानित २० देखि ३० अर्ब डलरको लगानी रहेको बताइएको छ ।
तर, एक अधिकारीले यो रकम प्रत्यक्षरूपमा अमेरिकाबाट नआउने र यो खर्च खाडीका साझेदारहरूले व्यहोर्ने अमेरिकाको चाहना रहेको बताएका छन् ।
इरानको आणविक ऊर्जा सुविधामा लगानीको विषय हालैका महिनाहरूमा भएका आणविक वार्ताका अघिल्ला चरणहरूमा पनि छलफल भएको बताइएको छ ।
“अमेरिका यी वार्ताहरूको नेतृत्व गर्न तयार छ,” ट्रम्प प्रशासनका एक अधिकारीले सीएनएनसँग भनेका छन् ।
इरानलाई दिइने अन्य छुट र प्रोत्साहनहरूमा इरानमाथिका केही प्रतिबन्धहरू हटाउने र तेहरानलाई हाल रोकिएका विदेशी बैंक खाताहरूमा रहेको ६ अर्ब डलर रिलिज गर्ने विषय समावेश रहेको बताइएको छ ।
यसबाहेक खाडीमा अमेरिका समर्थित सहयोगीहरूले फोर्डो आणविक सुविधालाई नागरिक उर्जा कार्यक्रमले प्रतिस्थापन गर्न खर्च गर्ने प्रस्ताव रहेको बताइएको छ । सीएनएन