site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जीवनका रङहरू

बेलाबेलामा दोहोरिरहने सपनाजस्तै 
कति बेला आकारझैँ 
कति बेला निराकारझैँ 
उन्मत्त हाँसोको पहराजस्तै 
निर्मल, निर्झर झरनाजस्तै 
आकृति हो या अनुभूति ?
समकोण हो या परिधि ?
जटिल यक्षप्रश्नभित्र 
खोजिरहेँ जीवनका रङहरू

मुस्कानजस्तै मुस्कुराउँछ जिन्दगी
तुफानजस्तै बर्बराउँछ जिन्दगी 
कुन सूत्रमा खोजौँ यसको समाधान ?
हर्ष र विस्मातभित्रै हराउँछ जिन्दगी 
घडीजस्तै, पलाजस्तै 
समयरेखाको अनुबन्धभित्र 
हतारहतार दौडिरहेको 
हारेजस्तो पनि, जितेजस्तो पनि 
स्वप्निल हो या यथार्थ 
प्रयोगशालामा जाँचिरहेँ 
जीवनका रङहरू

मदिराभित्र खोजेँ, नशाभित्र खोजेँ 
पलपलमा आइलाग्ने दशाभित्र खोजेँ 
प्रकृतिमा र विज्ञानमा पनि
अध्यात्म र ध्यानमा पनि
थरीथरीका अलंकारहरूमा 
जीवन खोजिरहेँ
ठम्याउन सकिनँ
जीवनका रङहरू !

(डोटी)
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्