
काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालका कप्तान सलिम अल–देवसारीले क्लब विश्वकपमा म्यानचेस्टर सिटीसँगको खेल गुमाउने भएका छन् ।
क्लबले विश्वकपअन्तर्गत अन्तिम–१६ को खेलमा कप्तान देवसारी चोटका कारण खेलमा अनुपस्थित हुने जनाएको हो ।
फिफाका अनुसार, आगामी मंगलबार (जुलाई १) सेमिफाइनलका लागि टोली म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे अमेरिकाको फ्लोरिडास्थित क्याम्पिङ वर्ल्ड रंगशालामा हुनेछ ।
क्लबका अनुसार, उनलाई चोटका कारण टोलीमा समेत समावेश गरिएको छैन । क्लबले विज्ञप्तिमार्फत उनको खुट्टामा चोट लागेको पुष्टि गरेको छ ।
“स्वास्थ्य परीक्षणमा सलिम अल–देवसारीलाई खुट्टामा चोट लागेको पुष्टि भएको छ । उनी अब उपचार गर्नतर्फ लाग्नेछन् । उनलाई पूर्ण रूपमा निको हुन लगभग चार देखि ६ हप्ता लाग्नेछ,” सामाजिक सञ्जाल एक्समा क्लबले जनाएको छ ।
टोलीले समूह ‘एच’ को उपविजेताको रूपमा अन्तिम–१६ मा स्थान बनाएको हो । टोली समूह चरणको अन्तिम खेलमा पाचुकाविरुद्ध २–० को जित निकाल्दै समूह उपविजेता बनेको थियो ।