
काठमाडौं । प्रहरी वृत्त गौशालाको विशेष टोलीले मंगलबार साँझ पेस्तोलसहित दुई जनालाई पक्राउ गर्यो । काठमाडौं महानगरपालिका–८, तिलगंगाबाट प्रहरी टोलीले महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम र २५ वर्षीय दिनेशकुमार रामलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, उनीहरूको कोठा खानतलासी गर्दा किटक्याट चकलेटको बट्टाभित्र एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन र खुकुरी भेटिएको थियो ।
प्रहरीका अनुसार, पक्राउ परेका दुवैजना सहोदर दाजुभाइ हुन् । उनीहरूले दुई वर्षदेखि तिलगंगामा मेडिकल पसल सञ्चालन गर्दै आएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आवश्यक पर्ने कागजातबिनै मेडिकल सञ्चालन गरेको खुलेको छ । औषधि बिक्री गर्ने दिनेशकुमार रामले फार्मेसीसमेत नपढेको खुलेको छ ।
मेडिकल पसलबाट हतियार किनबेच भइरहेको सूचनाको आधारमा प्रहरीको टोली उनीहरूले सञ्चालन गरेको मेडिकल पसल पुगेको थियो । औषधि खरिद गर्ने नाममा प्रहरीको टोलीले उनीहरूमाथि निगरानी गरिरहेको थियो ।
उनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘पेस्तोल खरिदबिक्री हुँदै छ भन्ने सूचनाका आधामारमा हाम्रो टोलीले उनीहरूमाथि निगरानी बढाएको थियो । हामीले केही औषधि पनि खरिद गर्यौँ । तर, खरिद गर्ने मानिस त आएनन् सुरेशमाथि शंका लागेर कोठामा लिएर खानतलासी गर्दा पेस्तोल भेटियो ।’’
प्रहरीका अनुसार, उनीहरूले कागज तथा प्लास्टिकले र्याप गरेर किटक्याट चकलेटको बट्टाभिर पेस्तोल राखेको भेटिएको हो । उनीहरूमाथि प्रहरीले हातहतियार खरखजाना कसुरमा अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले उनीहरूले भारतबाट पेस्तोल ल्याएको आशंका गरेको छ । तर, हतियारको प्रयोजन खुलेको छैन । यसमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
केही दिनअघि पनि गौशाला प्रहरीको टोलीले औषधिसम्बधी जानकारी नै नभएकी र डाक्टरको सल्लाहबिना औषधि बिक्री गरेको आरोपमा गोपिकृष्ण हलनजिक रहेको मेडिकल पसलबाट एक महिलालाई पक्राउ गरेको थियो । उक्त पसलसमेत अवैधरूपमा सञ्चालन गरेको पाइएको थियो ।