
काठमाडौं । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल र सातवटा गोठमा क्षति पुगेको छ । १४ चौपाया मरेका छन् । पहिरोबाट दुई करोड २१ लाख बराबरको क्षति भएको छ ।
यसैगरी, बाढीका ६४ घटनामा चारजनाको मृत्यु भएको तथा चारजना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ ।
चट्याङका ८२ वटा घटनामा आठजनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एकजनाको मृत्यु भएको तथा तीनजना घाइते भएका छन् । विपद्का घटनामा २६ करोड रुपैयाँको आर्थिक क्षति भएको छ । रासस