
काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले अमेजन प्राइम भिडियोमा हेर्नसक्ने भएका छन् ।
विसं २०८० सालको पुस २७ गते नेपालमा हलमा सार्वजनिक प्रदर्शनमा आएको यो अहिले अमेजन प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ ।
“अहिले यो चलचित्र विश्वभरका धेरै देशमा हेर्न सकिन्छ,” निर्देशक लामिछानेले भने, “चलचित्रको हिन्दी डब संस्करणलाई रिलिज वर्डले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । अहिले यो चलचित्र ४३ भाषामा सबटाइटल रिलिज भएको छ ।” रिलिज वर्डले ४३ भाषामा सबटाइटल गरेको उनले बताए ।
चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्कालगायतको अभिनय छ ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण गरेका हुन् । ‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । चलचित्रको एसोसिएट निर्माता राज श्रेष्ठ हुन् ।
यो चलचित्रले एक रिटायर्ड बाबु र छोरीबीचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्वन्धको कथा समेटेको छ ।