
काठमाडौं । ललितपुर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।
जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ । समितिमा सदस्य सचिव एवं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले नगर प्रमुख चिरीबाबु महर्जनलाई पूर्णखोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे ।
उनले खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको बताए ।
मेयर महर्जनले स्वास्थ्यकर्मीको निरन्तरको मिहिनेतले पलिकालाई पूर्णखोप बनाउन सकिएको बताए । आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय खोप तालिका अनुसार, नगरका २९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्णखोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।
नगरपालिकाले हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।