
काठमाडौं । एएफसी महिला एसियन कप छनोटको आफ्नो अन्तिम खेलअघि नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार भिडियो कलमार्फत नेपाली टिमलाई शुभकामना दिएका हुन् । यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले पनि महिला टिमलाई शुभकामना दिए ।
आज नेपालले एएफसी महिला एसियन कप छनोटअन्तर्गत जित्नैपर्ने अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।
उज्वेकिस्तानले यसअघि पहिलो खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । यता, नेपालले भने पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो ।
दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हराउँदा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।
समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेको छन् । यस्तै, गोलआधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।
यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले नपुग्ने भएको हो ।
यो खेलको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमअनुसार समूहबाट छनोट हुने टिमको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट हुनेछ ।
अर्थात्, आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउन नेपालले उज्वेकिस्तानलाई कम्तीमा पेनाल्टी सुटआउटमा भए पनि हराउनुपर्ने समीकरण बनेको हो ।
उज्वेकिस्तानको तास्केनस्थित मिली रंगशालामा हुने खेल शनिबार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।