
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकूलता, असहजता, विघ्नबाधामा अनुकूलता खोज्न जरुरी रहेको बताएका छन् । शनिबार (असार २१) काठमाडौंमा ‘सुनेको शासन : भोगेको प्रशासन’ पुस्तक लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकमा कुनै काम गर्न जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा देखिने गरेको उनले उल्लेख गरे । यसमै अनुकूलता खोज्न जरुरी रहेकामा उनले जोड दिए ।
उनले प्रबुद्ध वर्गले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताए । अवसरहरू वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने उनले औँल्याए । अवसर गुमे देश र जनताको बेहाल हुने उनको भनाइ थियो ।
आफ्नो वरपर रहेका अवसरलाई सूक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको उनले बताए । अब पनि अवसर नियाल्न ढिलो गरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने उनले टिप्पणी गरे ।
शासन र प्रशासन दुई शब्दबाट सुशासन बन्ने उनले बताए ।
कार्यक्रममा प्रधानन्यायाधीश राउतको भनाइ पढ्नोस्–
प्रबुद्ध वर्गहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरूले नियतको परख गर्नैपर्छ । यो बहुत ठूलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्याायधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनै पनि हिसाबले मैले मुकर गर्दिनँ । जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश न्यायधीशबीचमा बसेर न्यायिक निरुपण गर्नुपर्यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन । मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभूति हुन्छ भने प्रतिकूलता, असहजता, विघ्नबाधा देखिन्छ । प्रतिकूलता, असहजता, विघ्नबाधामा पनि अनुकूलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो । संकल्प बोकेर हिँडेको छु म । अवसरहरू हाम्रा वरिपरि नाचिरहेका छन् । हाम्रो अकर्मण्यताले हो, उदासीनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन कि ! देख्न पो सकिएन कि, समात्न पो सकिएन कि ! अवसरले हामीलाई कहिल्यै पर्खिंदैन । अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ । त्यसैले हाम्रा वरपर रहेका अवसरहरूलाई हाम्रा सूक्ष्म दृष्टिले, चेतनाका ती प्रतिबिम्वहरूले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । म अहिलेको लागि मात्रै भन्दिनँ । यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ । शासन र प्रशासन भन्ने दुईवटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ । न्युज एजेन्सी नेपाल