site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले राफेल जेटको बिक्रीलाई विफल पार्न खोजेको फ्रान्सको दाबी

काठमाडौं । फ्रान्सेली सैन्य र गुप्तचर अधिकारीहरूले मे महिनामा भारत र पाकिस्तानबीचको हवाई युद्धपछि फ्रान्समा निर्मित राफेल जेटको कार्यक्षमतामाथि शंका उत्पन्न गराउन चीनले आफ्ना दूतावासहरूलाई प्रयोग गरेको दाबी गरेका छन् ।

एसोसिएटेड प्रेस (एपी) समाचार समितिले फ्रान्सेली अधिकारीहरूलाई उद्धृत गर्दै आइतबार सम्प्रेषण गरेको समाचारमा चीनले फ्रान्सको प्रमुख लडाकु विमानको प्रतिष्ठा र बिक्रीलाई आँच पुर्‍याउने काम गरिरहेको आरोप लगाएको छ । 

चिनियाँ दूतावासहरूले राफेल जेट खरिद गरिसकेका देशहरू विशेषगरी इन्डोनेसियालाई ती विमान नकिनेर चिनियाँ निर्मित लडाकु विमानहरू छनोट गर्न मनाउन खोजिरहेको फ्रान्सेली अधिकारीहरूले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो जानकारी एक फ्रान्सेली सैन्य अधिकारीले नाम नखुलाउने सर्तमा बताएको एपीको जनाएको छ । मे महिनामा भारत र पाकिस्तानबीच भएको चार दिनको झडप दुई आणविक हतियार सम्पन्न छिमेकीहरूबीच गम्भीर टकरावमा दुवै पक्षका दर्जनौँ विमानहरू संलग्न हवाई युद्ध भएको थियो ।

सैन्य अधिकारीहरू र अनुसन्धानकर्ताहरूले त्यसयता पाकिस्तानका चिनियाँ निर्मित सैन्य हार्डवेयर, विशेषगरी लडाकु विमान र हवाई युद्ध मिसाइलहरूले भारतले पाकिस्तानी लक्ष्यहरूमा प्रयोग गरेको हतियार, विशेषगरी फ्रान्सेली राफेल जेटहरूको तुलनामा कस्तो प्रदर्शन गरे भन्ने विवरण खोजिरहेका छन् ।

राफेल र अन्य हतियारहरूको बिक्री फ्रान्सेली रक्षा उद्योगका लागि ठूलो व्यवसाय हो । 

विमानको प्रतिष्ठा बचाउन संघर्ष गरिरहेका फ्रान्सेली अधिकारीहरूले पाकिस्तान र यसको सहयोगी चीनबाट भएको राफेल–विरोधी र गलत सूचनाको सुनियोजित अभियान चलाइरहेको आरोप लगाएका छन् ।

उनीहरूका अनुसार यो अभियानमा सामाज संजालका भाइरल पोस्टहरू, राफेलको कथित भग्नावशेष देखाउने तस्बिरहरू, एआई जेनरेटेड सामग्री र भिडियो गेमका दृश्यहरू प्रयोग गरेर राफेल विरोधी अभियान चलाएको आरोप छ ।

अनलाइन गलत सूचना अध्ययन गर्ने फ्रान्सेली अनुसन्धानकर्ताहरूका अनुसार भारत–पाकिस्तान झडप सुरू भएसँगै नयाँ खोलिएका एकहजारभन्दा बढी सामाजिक सञ्जाल खाताहरूले चिनियाँ जेट राम्रो भएको सूचना फैलाएको छ ।

फ्रान्सेली दाबी
फ्रान्सका सैन्य अधिकारीहरूले राफेल विरोधी अनलाइन अभियानलाई चिनियाँ सरकारसँग प्रत्यक्षरूपमा जोड्न सकेका छैनन् ।
  
तर, फ्रान्सेली गुप्तचर सेवाले चिनियाँ दूतावासका रक्षा सहचारीहरूले अन्य देशका सुरक्षा र रक्षा अधिकारीहरूसँगको भेटमा यही विषय दोहोर्‍याएको बताए । जसमा भारतीय राफेल जेटहरूले कमजोर प्रदर्शन गरेको र चिनियाँ निर्मित हतियारहरूको प्रचार गरेको उल्लेख छ ।

रक्षा सहचारीहरूले राफेल खरिद गरिसकेका देशहरू र सम्भावित खरिदकर्ता राष्ट्रहरूलाई केन्द्रित गरेर लबिङ गरेको गुप्तचर सेवाले बताएको छ । फ्रान्सेली अधिकारीहरूलाई यी भेटहरूबारे ती देशहरूबाट जानकारी प्राप्त भएको थियो ।

फ्रान्सेली सशस्त्र बल मन्त्रालयले राफेलमाथि डिस्इन्फर्मेसन अभियानको निशाना बनाइएको बतायो, जसले वैकल्पिक उपकरणहरू, विशेषगरी चिनियाँ जेटको श्रेष्ठता प्रचार गर्न खोजेको थियो ।

“राफेललाई बिनाकारण निशाना बनाइएको होइन । यो अत्यन्त सक्षम लडाकु जेट हो, जुन विदेशमा निर्यात गरिएको छ । उच्च दृश्यता भएको क्षेत्रमा तैनाथ छ,” मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ ।

बेइजिङको राष्ट्रिय रक्षा मन्त्रालयले भन्यो, “सम्बन्धित दाबीहरू पूर्णतया आधारहीन अफवाह र बदनामी हुन् । चीनले सधैँ सैन्य निर्यातमा सावधानीपूर्ण र जिम्मेवार दृष्टिकोण कायम राखेको छ ।”

डसाल्ट एभिएसनले ५३३ राफेल बिक्री गरेको छ, जसमा इजिप्ट, भारत, कतार, ग्रीस, क्रोएसिया, संयुक्त अरब इमिरेट्स, सर्बिया र इन्डोनेसियालाई ३२३ विमान निर्यात गरिएको छ । इन्डोनेसियाले ४२ विमानहरूको अर्डर गरेको छ र थप किन्ने विचार गरिरहेको छ । अलजजिरा

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्