site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टेक्ससमा बाढी : ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा आएको आकस्मिक बाढीमा परी हालसम्म ७८ जनाको मृत्यु भएको छ । ४१ जना बेपत्ता छन् ।

सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ । त्यहाँ २८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । राहत र उद्धार अभियान जारी रहेको बीबीसीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारी अधिकारीले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । बाढीबाट केर काउन्टीको नदी किनारमा अवस्थित क्याम्प मिस्टिक गम्भीर रूपमा प्रभावित भएको छ । त्यहाँका १० बालिका र एक काउन्सिलर हालसम्म बेपत्ता छन् । खोजी अभियानको मुख्य केन्द्र यही क्षेत्र बनेको छ ।

केर काउन्टीका प्रहरी अधिकारी ल्यारी एल लिथाले भनिन्, “हामी हरेक व्यक्तिलाई नभेटेसम्म खोजीकार्य जारी राख्नेछौँ ।”

टेक्ससका गभर्नर ग्रेग एबटले सबै बेपत्ता व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराखिने बताए ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले आपत्कालीन अवस्थासँग जुध्न स्थानीय अधिकारीसँग मिलेर काम गरिरहेको बताएका छन् ।

त्यहाँको मौसम विभागले आउँदो २४ देखि ४८ घण्टामा उक्त क्षेत्रमा आँधी आउन सक्ने जनाएको छ । त्यसबाट राहत कार्यमा असर पुग्न सक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्