
काठमाडौं । इजरायली सेनाले उत्तरी गाजाको समुद्रतटीय क्याफेमा गरेको आक्रमणमा हमासका नौसेना कमान्डरलाई मारिएको दाबी गरेको छ । आक्रमणमा धेरै सर्वसाधारणको पनि मृत्यु भएको छ ।
सोमबार गाजाको अल–बका क्याफेमा भएको आक्रमणपछि गाजा र विदेशमा बस्ने परिवारका सदस्यहरूले ठूलो संख्यामा मानिसहरूको हताहत भएको बताएका थिए ।
इजरायल रक्षा बल (आईडीएफ)ले आइतबार यस आक्रमणमा नौसेना कमान्डर रमजी रमजान अब्द अली सालेहसहित हमासको मोर्टार इकाईका उपप्रमुख हिसाम अयमान अतिया मन्सुर र निसिम मुहम्मद सुलेमान अबु सबहाको मृत्यु भएको बताएको छ ।
आईडीएफले सालेह हमासको समुद्री आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने कार्यमा संलग्न रहेको बताएको छ ।
गाजास्थित स्रोतहरूले बीबीसीलाई आक्रमणको समयमा एक वरिष्ठ हमास कमान्डर क्याफेमा उपस्थित रहेको हल्ला चलेको बताएका छन् ।
बीबीसीले क्याफेमा भएको आक्रमणमा मृत्यु भएका २९ जनाको नाम पुष्टि गरेको छ । जसमा कम्तीमा नौजना महिला र केही बालबालिकासमेत छन् ।
बीबीसीबाट ।