site stats
बाह्रखरी :: Baahrakhari
खेल
कप्तान सावित्रा भन्छिन्– नेपाली लिग व्यवस्थित छैन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले नेपाली लिग संरचना व्यवस्थित नभएको बताएकी छन् । उज्वेकिस्तानमा एएफसी एसियन कप छनोट खेलेर स्वदेश फर्किएपछि सोमबार (असार २३) उनले घरेलु लिग संरचना व्यवस्थित नभएको टिप्पणी गरेकी हुन् ।

“...एन्फा जुन प्रोफेसनल रूपमा जानुपर्ने हो, त्यो रूपमा जान सकेको छैन  । अब मैले देखेको – महिला फुटबलको ६ देखि ८ महिनाको लिग गराउने बाहिरको जस्तो, व्यावसायिक रूपले जाने, यो तरिकाले गयो भने महिला फुटबलको एउटा जुन चार्म छ, समर्थकहरू पनि आउँछन्,” कप्तान सावित्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपाली लिगमा विभागीय टोलीबाहेक अरू क्लबको अवस्था कमजोर रहेको औँल्याइन् । “मलाई लाग्छ, राष्ट्रिय टिम धान्न विभागीय टिमहरूले सहयोग गरेको छ । आजको दिनसम्म तीनवटा विभाग थिएन भने नेपाली महिला राष्ट्रिय फुटबल टिमको अस्तित्व नै रहँदैनथ्यो भन्ने लाग्छ,” उनले भनिन्, “मलाई लाग्छ, तीन विभाग टिमबाहेक एन्फाको संरचनामा अरू टिम कमजोर नै छ ।”

उज्वेकिस्तानबाट नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो । छनोटमा नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ८–० को जित निकालेको थियो ।

अन्तिम खेलमा नेपाल घरेलु टिम उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । अन्तिम खेलको निर्धारित समयमा दुवै टिमले ३–३ को बराबरी खेलेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्