
काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यू–१६ युथ लिगमा फराकिलो जित निकालेको छ । सोमबार सातदोबाटोस्थि एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले चर्च ब्वाइज युनाइटेडविरुद्ध ७–० को जित निकालेको हो ।
फ्रेन्ड्सको जितमा मन्दीप ढुंगेलले पाँच गोल गरे । सुनित केसी र ऋषव पुनले समान एक–एक गोल गरे ।
फ्रेन्ड्सले खेलको पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको पहिलो मिनेटमा सुनिलले टोलीलाई अग्रता दिलाए । मन्दीपले १६औँ, २७औँ र ३८औँ मिनेटमा गोल गरेपछि फ्रेन्ड्सले पहिलो हाफमा ४–० को अग्रता कायम गर्यो ।
खेलको ५८औँ मिनेटमा मन्दीपले अर्काे गोल थपे । उनले ८७औँ मिनेटमा पुनः गोल गर्दै अग्रतालाई ६–० को अवस्थामा पुर्याए । खेलको इन्जुरी टाइममा ऋषवले अन्तिम गोल थपे ।
जितसँगै फ्रेन्ड्सले लिगमा तीन अंक जोडेको छ । फ्रेन्ड्सले अब लिगको दोस्रो खेल आगामी बुधबार (असार २५ गते) दिउँसो १ बजे विभागीय क्लब नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पहिलो संस्करणको विजेता चर्च ब्वाइजले लिगमा खराब सुरुवात गरेको छ । अब उसले दोस्रो खेल बुधबार नै विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग खेल्नेछ । खेल दिउँसो १० बजे हुनेछ ।