site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

उपभोक्ता अदालतले उपचारसम्बन्धी मुद्दामा गरेको निर्णयविरुद्ध नेपाल चिकित्सक संघले आज सोमवार देशभर आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्दा लाखौं बिरामीहरूले सास्ती पाएका छन् । चिकित्सासम्बन्धी विवादलाई उपभोक्ता अदालतको कार्यक्षेत्रमा नराखी नेपाल मेडिकल काउन्सिलको क्षेतेराधिकारभित्र मात्र राख्नुपर्ने माग राखेर संघले देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्न आह्वान गरेको थियो ।

बदनियत नराखी उपचार गर्दा पनि अदालतले दोषी ठहर गरी दण्ड सजाय गर्दा चिकित्सकहरू विचलित हुनु स्वाभाविकै हो । तर, त्यस्तो असन्तुष्टि प्रकट गर्न कानुनद्वारा खडा गरिएको कुनै अदालतको निर्णयमा चित्त नबुझ्नेबित्तिकै देशभर सेवा नै बन्द गरेर संगठितरूपमा उत्रने चिकित्सकहरूको ‘बाहुबली’ व्यवहार भने कुनै पनि अवस्थामा स्वीकार्य हुनसक्दैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा उपभोक्ता अदालतको अभ्यास अपेक्षाकृत नयाँ हो । चिकित्सालगायत अरू सेवा प्रदायकहरूमाथि पनि उपभोक्ता अदालतमा मुद्दा पर्न थालेको छ । सेवा प्रदायकहरू सबैले यसरी नै बाहुबल प्रदर्शन गर्ने हो उपभोक्ताले न्याय पाउने त सम्भावनै हुँदैन । यसैले पनि पेसागत धर्म र प्रचलित कानुनविपरीत चिकित्साजस्तो अत्यावश्यक सेवा नै रोकेर आन्दोलनमा उत्रने  चिकित्सकहरूको व्यवहार पटक्कै उचित होइन ।

अरू मुलुकहरूमा पनि चिकित्सा अभ्यासमा भएका त्रुटिमा उपभोक्ता अदालतमा मुद्दा चलाइने गरिन्छ । यस्तै, कतिपय मुलुकमा चिकित्सा अभ्यासकै लागि अलग्गै न्यायिक इजलास  खडा गरेर मुद्दा चलाइन्छ । नेपालको अभ्यास अव्यावहारिक नै भएको हो भने व्यापक छलफल गरेर त्यसको सबैलाई स्वीकार्य समाधान निकाल्न पक्कै सकिन्छ ।

हिन्दी सिनेमाको विदूषक खल पात्रले विवाहको मण्डपबाट ‘उठ जायंगे’ भन्ने शीलीमा सेवा बन्द गरिहाल्न तम्सने अभ्यास नेपाल मेडिकल काउन्सिलले तत्काल छाड्नुपर्छ । अस्पतालमा उपचार सेवा नै बन्द गर्नु त राज्यलाई झुकाउन प्रयोग गरिने अन्तिम अस्त्र हो । सरकारले पनि चिकित्सकहरूले उपभोक्ता अदालतको क्षेत्राधिकारमा प्रश्न उठाएपछि तत्कालै छलफल गरेर सबै पक्षलाई स्वीकार्य समाधान खोज्नुपर्थ्यो ।

सरकारले नेपाल मेडिकल काउन्सिलले आन्दोलनको थप निर्णय नगर्दै सरोकारवालाहरूसँग संवाद अगाडि बढाओस् । नेपाल चिकित्सक संघले पनि सरकारलाई झुकाउन जनताविरुद्ध सेवा बन्दको  ‘ब्रह्मास्त्र’ प्रयोग गर्ने पाप नगरोस् । जनताविरुद्ध सेवा बन्दको अस्त्र प्रहार गर्ने नेपाल चिकित्सक संघले कतै उत्तराको गर्भमा ब्रह्मास्त्र प्रहार गर्ने महाभारत कथाका ‘अश्वत्थामा’को नियति भोग्नु नपरोस्  !   
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्