
काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले रास्वपाको हस्ताक्षर अभियानप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा आफ्नो धारणा राख्दै उनले यस्तो अभियानप्रति आपत्ति जनाएका हुन् ।
“सभामुख महोदय, एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ, २०८२ साल असार ७ गते नै भैरहवा कारागारमा पुर्पक्षमा रहेका एकजना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । मैले त्यसलाई याचनापत्र भनेको छु । अहिले त्यसकै आधारमा हस्ताक्षर अभियान जारी छ,” उनले भने, “अहिले अदालतमा मुद्दा चलिरहेको छ । त्यसका विरुद्ध हस्ताक्षर भइरहेको छ । यो राजनीति हो । राजनीतिक रोटी सेक्ने उपक्रम हो ।”
उनले हस्ताक्षरको संख्या हेरेर निर्णय नगर्ने बताउँदै यो अदालतप्रतिको दबाब भएको बताए ।
“खासमा जे भइरहेको छ । यो राजनीति हो । आफ्नो रोटी सेक्ने प्रपन्च हो । सर्वोच्चको आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन,” उनले भने, “बहस पैरवीका आधारमा अदालतले निर्णय गर्छ । यो कुराको हेक्का राख्न अनुरोध गर्छु । जिल्लादेखि सर्वोच्चसम्मले सुनुवाई गरेका विषय कसरी प्रतिशोध हुन्छ ? यो जानेर भएको छ कि अनाडी भएर गरिएको छ ? सर्वोच्चको आदेश बर्खिलाप हुनेगरी मिल्छ कि मिल्दैन ? शक्ति पृथकीकरणको संवैधानिक व्यवस्थाविरुद्ध छ । यस्ता कार्य अबिलम्ब रोक्न ध्यानाकर्षण गर्न चाहन्छु ।”