site stats
बाह्रखरी :: Baahrakhari
कला
‘माग्ने बुढा’को अभिव्यक्तिले उजागर गरिदिएको नेपाली सिनेमाको यथार्थ

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पारिश्रमिकको विषयमा एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । निर्माताले दिएको भनेर प्रचारित पारिश्रमिक आफूले नपाएको स्वयं कलाकारले बताएपछि नयाँ तथ्य बाहिर आएको हो ।

चलचित्र ‘माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई निर्माता मुनाल घिमिरेले ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको सार्वजनिक कार्यक्रममा बताएका थिए । तर, केदारले आफूले त्यति पारिश्रमिक नपाएको प्रस्ट पारेका छन् ।

आफूलाई ६१ लाख पारिश्रमिक दिएको प्रमाणित गरेर देखाउन उनले निर्मातालाई नै चुनौती दिए । ६१ लाख पारिश्रमिक पुष्टि भए निर्मातालाई नै त्यो फिर्ता गरिदिने उनले बताए । जसले त्यति पारिश्रमिक लिएको भनियो, उनले नै होइन भनेपछि नेपाली चलचित्र उद्योगमा कति धेरै भ्रमको खेती गरिन्छ भन्ने प्रस्ट भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामाजिक सञ्जालमा गाली पाउन थालेपछि केदारले वास्तविकता बाहिर ल्याएका हुन् । आइतबार (असार २२) काठमाडौंमा एक कार्यक्रममा उनले आफूलाई ‘सिध्याउने’ प्रयास भइरहेको बताए ।

सिनेमाको हाइप बढाउन अनावश्यक भ्रम फैलाउन निर्माता तथा निर्देशक केन्द्रित भएको उनले आरोप लगाए । धेरै पारिश्रमिक किन भनेको भन्दा हाइप बढाउन भनेर निर्माताले जवाफ दिएको उनले बताए ।

“ए भाइ, चुप लाग न ! मैले दुई/चारवटा फिल्म पहिल्यै बनाइसकेको छु, हाइप बढाउन होे भन्नुभयो,” केदारले असन्तुष्टि पोखे, “जे भनेर भए पनि हाइप बढाउनुपर्छ है भनेर उहाँले बढाइबढाइ भन्नुभयो ।”

निर्देशकले पनि सिनेमाको हाइप बढाउन प्रचारको समयमा विभिन्न तरिका अपनाउनुपर्ने बताएको केदारले सुनाए । केदारले ६१ लाख रुपैयाँ पारिश्रमिक नलिएको त बताए, तर कति लिए भन्ने प्रस्ट पारेका छैनन् ।

“म अभिनय गर्न चाहन्छु, अभिनय गर्न पाऊँ । म हिरो पनि होइन, स्टार पनि होइन,” उनले भने । आफूलाई भ्रम फैलाउने माध्यम बनाएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

केदारको यो अभिव्यक्तिले नेपाली सिनेमा उद्योगमा कति धेरै भ्रमको खेती गरिन्छ भने उजागर भएको छ । उनले बोले र सत्य बाहिर आयो ।

यदि, सामाजिक सञ्जालमा गाली नपाएको भए उनी यसबारे केही बोल्थे ? उनले प्रस्ट नपारेको भए केदारको पारिश्रमिक ६१ लाख नै दर्ज हुन्थ्यो ।

“केदारजीले सुरुमा केही नबोल्नुभएकै हो । तर, जब उहाँका हरेक पोस्टमा गाली आउन थाल्यो, पारिश्रमिकलाई लिएर गाली आउन थालेपछि उहाँले यो कुरा बाहिर ल्याउनुभएको हो,” ‘माग्ने राजा’ निर्माण टिमका एक सदस्यले बाह्रखरीसँग भने, “यदि, गाली आएको थिएन भने उहाँ चुप लागेर बस्नुहुन्थ्यो । निर्माताले उहाँकै अगडि पब्लिक्ली उहाँका पारिश्रमिकको कुरा गर्दा केदारजी चुप बस्नुभएकै हो ।”

‘माग्ने राजा’को पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनालले केदारलाई ५१ लाख पारिश्रमिक दिइसकेको बताएका थिए । १० लाख रुपैयाँ दिन बाँकी रहेको उनले सुनाएका थिए । 

केदारको हालको भनाइले भ्रम फैलाएका कारण निर्माण टिममा विवाद उत्पन्न भएको संकेत गरेको छ ।  

यो एउटा उदाहरण मात्र हो । यस्ता भ्रामक प्रचार नेपाली चलचित्र उद्योगमा सामान्य भइसक्यो । कलाकारको पारिश्रमिकको रकम ‘फेक’, बक्सअफिस तथ्यांक ‘फेक’, हलको टिकट बुक छ, दर्शक छैन, त्यहीँ ‘फेक’ । चलचित्र राम्रो हुँदैन, तर प्रिमियरमा पुगेका कलाकार बलिउड र हलिउडस्तरको सिनेमा बनेको भन्ने गलत प्रतिक्रिया दिन्छन्, त्यो ‘फेक’ । हलमा दर्शकको खडेरी हुन्छ, तर मिडियामा प्रेस नोट आउँछ– देशभर सिनेमा हाउसफुल, अर्को ‘फेक’ प्रचार ।

चलचित्र उद्योग आत्मरतिमा रमाइरहेको कलाकार दीपकराज गिरी टिप्पणी गर्छन् । यस्ता भ्रामक सूचनाले अन्ततः चलचित्र उद्योग र सिनेकर्मीलाई नै घाटा पुग्ने उनको भनाइ छ ।

पारिश्रमिकको विषय बजारले निर्धारण गर्ने उनी बताउँछन् । यो त्यति धेरै आलोचनाको विषय नभएकामा उनी जोड दिन्छन् । तर, अरू धेरै विषय सच्याउनुपर्ने दीपक औँल्याउँछन् ।

निर्माता आफैँले टिकट काटेर हलमा ५१ र १०० दिन मनाएर भ्रम छर्ने कार्य पनि गरिने उनी प्रस्ट पार्छन् । चलचित्र उद्योग कृत्रिमतामा रमाइरहेको दीपक टिप्पणी गर्छन् ।

प्रिमियरमा चलचित्र देखाएर गलत प्रतिक्रिया लिने र दिने चलन मौलाएको उनी बताउँछन् । “म आजकाल प्रिमियरमा जाँदै जान्नँ, किनभने त्यहाँ जे हो त्यो बोल्यो भने मेकर रिसाउँछ,” दीपकले केही समयअघि बाह्रखरीसँग भनेका थिए, “क्यामेराका अगाडि गज्जब राम्रो चलचित्र भनेर भन्ने कलाकार बोलिसकेर पार्किङमा झर्दै गर्दा आफैँ फोन गरेर यस्तो झुर चलचित्र त मैले आजसम्म हेरेकै थिएन भन्छ ।” यो गलत संस्कार भएको उनी सुनाउँछन् ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्