
काठमाडौं । स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक श्रीलंकामा सुरु गरिएको छ । श्रीलंका स्टारलिंक इन्टरनेट सेवा सुरु गरिएको भुटान र बंगलादेशपछि दक्षिण एसियाको तेस्रो देश हो ।
स्पेसएक्सका संस्थापक एवं सीईओ एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा श्रीलंकामा स्टारलिंक प्रवेशको घोषणा गरे । स्टारलिंक एक लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट इन्टरनेट सेवा हो । दुर्गम क्षेत्रमा पनि उच्च गतिको इन्टरनेट प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ ।
स्टारलिंक स्याटेलाइटको सञ्जाल हो । यो स्पेसएक्स कम्पनीको सेवा हो । यसको वेबसाइटअनुसार स्टारलिंक विश्वको पहिलो र सबैभन्दा ठूलो स्याटेलाइट समूह हो । यससले स्ट्रिमिङ, अनलाइन गेमिङ, भिडियो कललगायत कार्यका निम्ति सक्षम ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्न पृथ्वीको तल्लो कक्षको उपयोग गर्छ ।
स्याटेलाइटबाट प्राप्त हुने यो वायरलेस इन्टरनेट हो । यो जमिनमा उपलब्ध केबल वा टावरमा आधारित इन्टरनेटभन्दा फरक छ । यो सिधै स्याटेलाइटसँग जोडिएर सञ्चालन हुन्छ ।
यसले अन्तरिक्षमा रहेका स्याटेलाइटमा प्रयोगकर्ताको उपकरणबाट सिग्नल पठाउँछ । इन्टरनेटसँग जोडिएको ग्राउन्ड स्टेसनसम्म डेटा पुर्याउँछ । ग्राउन्ड स्टेसनले त्यो डेटा स्याटेलाइटमार्फत प्रयोगकर्ताको डिसमा फिर्ता पठाउँछ । र, कनेक्सन पूरा हुन्छ ।
सन् २०१९ मा यो सेवा थालिएको थियो । हाल यो टेलिकम्युनिकेसन परियोजनाअन्तर्गत करिब आठ हजार साना स्याटेलाइट पृथ्वीको तल्लो कक्षामा छन् ।
यी स्याटेलाइट सामान्यतया पृथ्वीको सतहबाट २०० देखि दुई हजार किलोमिटरको उचाइमा परिक्रमा गर्छन् । सन् २०२४ को अन्त्यसम्म १०० भन्दा बढी देशमा स्टारलिंकका करिब ४६ लाख प्रयोगकर्ता थिए ।