
काठमाडौं । नवप्रवेशी शीर्ष डिभिजन क्लब श्री भगवती क्लब एन्फा यू–१६ यूथ लिगमा पराजित भएको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले भगवतीलाई ३–१ ले पराजित गरेको हो ।
हिमालयन शेर्पाको जितमा प्रदीप खत्री, विसु सुनुवार र जेनिल सुब्बाले समान एक गोल गरे । भगवतीका अनिल गुरुङले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको ३०औँ मिनेटमा प्रदीपले हिमालयन शेर्पालाई अग्रता दिलाए । ४०औँ मिनेटमा विसुले अग्रतालाई दोब्बर बनाए । ६२औँ मिनेटमा जेनिलले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्याए ।
खेलको ८८औँ मिनेटमा भगवतीका अनिलले एक गोल फर्काए । तर, उनको गोल भगवतीलाई खेलमा फर्कन पर्याप्त बनेन ।
जितसँगै हिमालयन शेर्पाले पहिलो तीन अंक जाडेको छ । हिमालयनले अब तेस्रो खेलमा जावलाखेल युथ क्लबको सामना गर्नेछ । खेल आगामी बिहीबार (असार २६ गते) बिहान १० बजे हुने तालिका छ ।
दोस्रो खेलमा पनि पराजित भगवतीले तेस्रो खेलमा सातदोबाटो युथ क्लबको सामना गर्नेछ । खेल आगामी बुधबार (असार २५ गते) दिउँसो ४ बजे हुने तालिका छ ।