site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फाको बिदाइ कार्यक्रम : शुभकामना कम, प्रशिक्षकबारे स्पष्टीकरण बढी

काठमाडौं । “अहिले शुभकामना दिन पनि गाह्रो छ । फेरि टिमलाई पेनाल्टी हान्न दबाब पर्ने हो की,” मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित नेपाली यू–२० महिला टिमको बिदाइ कार्यक्रममा महासचिव किरण राईले सुरुमै भने ।

मंगलबार बिहान नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डको अन्तर्वार्ता सार्वजनिक भएपछि यो विषय हाल निकै चर्चामा छ । प्रशिक्षक प्याट्रिकले एन्फासँगै प्रधानमन्त्रीसम्मले टिममा अनावश्यक दबाब थपेको बताए । 

प्रशिक्षक प्याट्रिकले अन्तर्वार्तामा एन्फाको कमजोरी खुलस्त बनाएपछि मंगलबारको बिदाइ कार्यक्रममा बिदाइको शुभकामना कम स्पष्टीकरण ज्यादा थियो । एन्फा महासचिव र अध्यक्षसमेतले प्याट्रिकको अन्तर्वार्तालाई सहज रूपमा लिन सकेनन् । दुवैजना कार्यक्रममा एन्फाको रक्षामा आक्रामक ढंगबाट प्रस्तुत भए ।

प्रशिक्षकको ठाडो चेतावनीले उदांगिएको वास्तविकता
छनोटअघि नेपालले टिमले प्याट्रिक डी वाइल्डलाई विदेशी प्रशिक्षकको रूपमा पायो । यसअघि नेपाली फुटबलमा फ्रेन्चाइज टोली काठमाडौं रेजर्सको जिम्मेवारी सम्हालेका बेल्जियमका ६१ वर्षीय वाइल्ड प्रो लाइसेन्सवाहक हुन् । अर्थात्, महिला फुटबलकै इतिहासमा वाइल्ड नेपाली टिमले पाएको पहिलो प्रो लाइसेन्सवाहक प्रशिक्षक हुन् । 

वाइल्डको आगमनले नेपाली टिममा देखिएको उत्साह गज्जबकै थियो । तर, छनोटअघि मात्रै नेपाली टिमको जिम्मेवारीमा आएका वाइल्ड तीन खेलबाटै एन्फाले महिला फुटबलमा गरिरहेको व्यवहारबाट बिरक्तिए ।

छनोटपछि नेपाली टिम सोमबार स्वदेश फर्कियो । तर, वाइल्ड नेपाल आएनन् । उनी उज्वेकिस्तानबाटै आफ्नो देश बेल्जियम फर्किए ।

नेपाल खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको प्रतिनिधित्व गर्दै नेपाली टिमसँगै रिपोर्टिङका निम्ति तास्केन पुगेका थिए खेलकुद पत्रकार नायक पौडेल । काठमाडौं पोस्टमा कार्यरत नायकले लिएको एक अन्तर्वार्तामा प्रशिक्षक डी वाइल्डले एन्फाप्रति खुलेरै आफ्नो असन्तुष्टि पोखे । प्रशिक्षक वाइल्डले उक्त अन्तर्वार्तामा सोझै भनेका छन्, “एन्फा नसुध्रिए म फर्किन्नँ ।”

६ वर्षपछि विश्वकप खेल्ने लक्ष्य राखे पनि त्यसअनुसारको तयारी नदेख्दा प्रशिक्षक वाइल्ड बिरक्तिनु स्वभाविक पनि छ । प्रशिक्षक वाइल्ड एन्फाप्रति असन्तुष्ट देखिए पनि खेलाडीमा भने उनको राम्रै प्रभाव देखिन्छ । 

छनोटमा उज्वेकिस्तानसँगको हारपछि नेपाली टिमका चर्चित अनुहारहरूले क्रमैसँग सामाजिक सञ्जालमा प्रशिक्षक वाइल्डसँगको तस्बिर राख्नुले पनि यसलाई पुष्टि गर्छ । 

छनोटकै क्रममा देखिएको कप्तान विवादबारे पनि वाइल्डले आफ्नो मत राखे । छनोटअघिसम्म नेपालको नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा वाइल्डको पहिलो रोजाइमा अटाउन सकिनन् । उनको स्थानमा वाइल्डले फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई नयाँ कप्तान बनाए । यसबारे प्रतियोगिताकै दौरान नेपाली टिमको व्यवस्थापनमा मनमुटावको स्थिति बन्यो ।

“कप्तान चुन्नु पनि विवादको विन्दु बन्यो । सावित्रा भण्डारी नेपाली फुटबलले पाएको हालसम्मकै उत्कृष्ट खेलाडी हुन् । उनीबिना नेपाललाई जित निकाल्न मुस्किल पर्छ,” वाइल्डले भनेका छन् ।

निसन्देहः विश्वमै चर्चित खेल फुटबलमा नेपालले पनि खेल्न सक्ने सम्भावित सबैभन्दा ठूलो प्रतियोगिता हो, फिफा महिला विश्वकप । 

विश्व महिला फुटबलको मानचित्रमा नेपाली टिमको उपस्थितिलाई त्यति प्रभावशाली मान्न पक्कै सकिँदैन । तर, ‘गोर्खाली चेली’को उपमा पाएको यो टिमको प्रदर्शनले नेपाल कमजोर भएको पनि देखाउँदैन । 

उज्वेकिस्तानको तास्केनमा आयोजित एएफसी एसियन कप छनोटमा नेपालको प्रदर्शन अब्बर रह्यो । तर, समूह ‘एफ’को अन्तिम खेलमा घरेलु टिमसँग पेनाल्टी सुटआउटमा ४–२ ले निराश बन्दा नेपालले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसियन कपमा स्थान बनाउन सकेन ।

त्यसो त नेपाली फुटबलको अभिभावक निकाय (एन्फा)ले मिसन महिला विश्वकप २०२७–३१ को लक्ष्य राखेको छ । जसको अर्थ हुन्छ– सन् २०२७ वा २०३१ मा महिला टिमले विश्वकपमा मञ्चमा प्रतिस्पर्धा गर्ने । 

मिसनअनुसार, सन् २०२७ को विश्वकप पुग्ने पहिलो खुड्किलो थियो, आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप–२०२६ । तर, छनोटको अन्तिम खेलमा उज्वेकिस्तानविरुद्ध पराजित भएसँगै नेपालले अबको दुई वर्षपछि हुने विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर गुमाइसकेको छ । 

अब, ६ वर्षपछि आयोजना हुने २०३१ को विश्वकपमा प्रतिस्पर्धा गर्ने लक्ष्य छ । तर, नेपाली महिला फुटबल टिमले भोग्दै आएको वर्तमान परिस्थिति कायम रहे ६ वर्षपछि हुने यो प्रतियोगिता पनि नेपालका निम्ति ‘सपना’ मात्रै हुने निश्चित छ ।

वाइल्डको असन्तुष्टिप्रति एन्फाको धारणा ?
वाइल्डको असन्तुष्टिले चर्को दबाब थपेपछि मंगलबारको बिदाइ कार्यक्रममा महासचिवले भने, “जसरी पनि अन्तिममा अपजस आउने भनेको एन्फालाई हो । जे गरे पनि गाली हामीले नै खानुपर्छ ।”

महासचिवको तर्कमा होमा हो मिलाउन अध्यक्ष पंकजविक्रम नेम्वाङ पनि पछि परेनन् । अध्यक्ष नेम्वाङ छनोटमा डी वाइल्डले खेलाएको रणनीतिमा पनि सन्तुष्ट थिएनन् । उनले यू–२० टिमका प्रशिक्षकलाई आजै कप्तान चयन गर्न र वाइल्डले जसरी बलियो टिमसँग ‘एक्सपेरिमेन्ट’ नगर्न खुलेरै आग्रह गरे ।

“म हाम्रो युवा टिमको प्रशिक्षकलाई आग्रह गर्न चाहन्छु, तपाईं आज नै यो टिमको कप्तान चयन गरेर जानुहोला । फेरि तपाईंहरू प्रतियोगिता खेल्नुअघि मैले कप्तान को हो भनेर टिमको म्यानेजरलाई सोध्नुपर्ने अवस्था नआओस् । अनि बलियो टिमविरुद्ध खेल्दा कृपया एक्सपेरिमेन्ट नगरिदिनुहोला,” अध्यक्ष नेम्वाङले भने ।

प्रशिक्षक वाइल्ड प्रो लाइसेन्स भएको व्यावसायिक व्यक्तित्व भए पनि उनले त्यस्तो व्यवहार नदेखाएको नेम्वाङको तर्क थियो । 

उनी थप्छन्, “प्रशिक्षकज्यूले मिडियामा भन्नुभएका कुराहरू हामीसँग भन्नुभएको भए राम्रो हुन्थ्यो । हामी महिला टिमलाई विश्वकपसम्म पुर्‍याउने मिसनमा छौँ । त्यसैकारण पक्कै पनि त्यसलाई सम्बोधन गर्ने नै थियौँ । उहाँ फुटबलको प्रोफेसनालिजमा चुक्नुभयो । तर, हामी त्यस्तो गर्दैनौँ । हामी व्यावसायिक हिसाबले नै यो विषयलाई सुल्झाउने छौँ ।”

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्