site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा वरीयता : एक स्थान खस्कियो नेपाल, दक्षिण एसियामा श्रीलंकाबाहेक सबै घटुवामा

काठमाडौं । फिफा वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टिम एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाली टिम १७६औँ स्थानमा छ । यसअघि नेपाली टिम वरीयताको १७५औँ स्थानमा थियो ।

नेपालले फिफाको जुन विन्डोमा हङकङसँग एक मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेलेको थियो । नेपालले मैत्रीपूर्ण खेलमा हङकङसँग गोलरहित बराबरीमा रोके पनि छनोटमा भने आफूभन्दा कमजोर टिम लाओससँग पराजित भएको थियो । लाओसमै भएको उक्त खेलमा नेपाली टिम २–१ ले पराजित भएको थियो । नेपाली फुटबलको इतिहासमा लाओससँगको यो पहिलो हार हो ।

फिफाको दक्षिण एसियाली वरीयतामा भारत ६ स्थान घटुवामा परेको छ । यसअघि, वरीयताको १२७औँ स्थानमा रहेको भारत अहिले घटेर १३३औँ स्थानमा छ । यद्यपि, भारत दक्षिण एसियामा भने शीर्ष स्थानमा कायमै छ । 

दक्षिण एसियाको दोस्रो स्थानमा रहेको माल्दिभ्स सात स्थान घटुवामा पर्दा १७१औँ स्थानमा पुगेको छ । तेस्रो स्थानमा नेपाल रहँदा चौथो स्थानको बंगलादेश १८४औँ र पाँचौं स्थानको भुटान १८६औँ स्थानमा छ । बंगलादेश एक स्थान घटुवामा पर्दा भुटान चार स्थान खस्किएको छ ।

छैटौँ स्थानको श्रीलंका १९६औँ स्थानमा उक्लिएको छ । श्रीलंका यसअघि २००औँ स्थानमा थियो । सातौँ स्थानको पाकिस्तान भने तीन स्थान घटुवामा पर्दै २०१औँ स्थानमा झरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्