site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रशिक्षकको एउटा अन्तर्वार्ताले हल्लिएको एन्फाको कमजोर जग

काठमाडौं । नेपाली फुटबलमा हाल सबैभन्दा चर्चाको विषय हो, राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डको एक अन्तर्वार्ता । 

नेपाली टिम एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको थियो । त्यहाँ तीन खेल खेलेर टिम फर्किएको भोलिपल्ट (सोमबार) उनको अन्तर्वार्ता सार्वजनिक भएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को प्रतिनिधित्व गर्दै रिपोर्टिङका निम्ति उज्वेकिस्तान पुगेका नायक पौडेलले लिएका थिए, त्यो अन्तर्वार्ता ।

अन्तर्वार्तामा डी वाइल्डको मुख्य सन्देश थियो– अखिल नेपाल फुटबल संघ (एन्फा)मा सुधार नभए आफू नफर्कने । उनले एन्फाका कमजोरी औँल्याउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले अनावश्यक चर्चाका निम्ति टिममा दबाब थपेको बताएका थिए ।

डी वाइल्डको अन्तर्वार्ता सार्वजनिक भएपछि एन्फाको चर्काे आलोचना गरिँदै छ । समर्थकबाट आलोचना खेपेपछि स्पष्टीकरणका निम्ति एन्फाले बुधबार पत्रकार सम्मेलन नै आयोजना गर्‍यो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उज्वेकिस्तान गएको टिमका अफिसियल सरिला श्रेष्ठ, विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र गोलकिपर प्रशिक्षक सुरजकुमार लामासँगै टेक्निकल डाइरेक्टर हरि खड्का उपस्थित थिए ।

के हो विवादको कारण ?
छनोटअघि नेपालले प्याट्रिक डी वाइल्डलाई विदेशी प्रशिक्षकका रूपमा पायो । नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सको जिम्मेवारी सम्हालिसकेका बेल्जियमका ६१ वर्षीय वाइल्ड प्रो लाइसेन्सवाहक हुन् । अर्थात्, महिला फुटबलको इतिहासमा वाइल्ड नेपाली टिमले पाएको पहिलो प्रो लाइसेन्सवाहक प्रशिक्षक हुन् ।

वाइल्डको आगमनले नेपाली टिममा देखिएको उत्साह गजबकै थियो । तर, वाइल्ड तीन खेलबाटै महिला फुटबलमा एन्फाले गरिरहेको व्यवहारबाट विरक्तिए ।

टिमसँगै वाइल्ड नेपाल आएनन् । उनी उज्वेकिस्तानबाटै आफ्नो देश बेल्जियम फर्किए ।

बेल्जियम फर्कनुअघि उक्त अन्तर्वार्तामा उनले एन्फाप्रति खुलेरै आफ्नो असन्तुष्टि पोखे । र, यसबाटै एन्फा र प्रशिक्षकबीचको मनमुटाव छरपस्ट हुन्छ । प्रशिक्षकको एउटा अन्तर्वार्ता – जसले करिब ७५ वर्ष लामो इतिहास रहेको बलियो संस्थाको कमजोर जग नराम्ररी हल्लाइदिएको छ ।

६ वर्षपछि विश्वकप खेल्ने लक्ष्य राखे पनि त्यसानुसारको तयारी नदेख्दा उनी विरक्तिनु स्वाभाविक पनि हो । एन्फाप्रति असन्तुष्ट रहे पनि खेलाडीमा उनको राम्रै प्रभाव देखिन्छ । छनोटमा उज्वेकिस्तानसँगको हारपछि नेपाली टिमका चर्चित अनुहारहरूले क्रमैसँग सामाजिक सञ्जालमा प्रशिक्षक वाइल्डसँगको तस्बिर राख्नुले पनि यसलाई पुष्टि गर्छ ।

छनोटकै क्रमको कप्तान विवादबारे पनि वाइल्डले आफ्नो मत राखे । छनोटअघिसम्म नेपालको नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा वाइल्डको पहिलो रोजाइमा अटाउन सकिनन् । उनको स्थानमा वाइल्डले फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई नयाँ कप्तान बनाए । यसबारे प्रतियोगिताकै दौरान नेपाली टिमको व्यवस्थापनमा मनमुटावको स्थिति बन्यो ।

“कप्तान चुन्नु पनि विवादको विन्दु बन्यो । सावित्रा भण्डारी नेपाली फुटबलले पाएको हालसम्मकै उत्कृष्ट खेलाडी हुन् । उनीबिना नेपाललाई जित निकाल्न मुस्किल पर्छ,” वाइल्डले भनेका थिए ।

अफिसियलको स्पष्टीकरण– प्रशिक्षकले मनोमानी गरे
बुधबार पत्रकार सम्मेलनमा टिमका ‘हेड अफ डी डेलिगेट्स’ एवं एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठले कप्तान परिवर्तन गर्नु समस्याको विषय नभएको बताइन् । तर, सावित्रालाई कप्तान बनाउने बारेमा वाइल्डले टिम अफिसियिललाई कुनै जानकारी नदिएको जनाइन् ।

“प्रशिक्षकले कुनै पनि विषयमा हामी (अफिसियल)सँग सल्लाह गर्नु भएन । कप्तानको विषयमा उहाँलाई हामीले प्रतियोगिताको पहिलो खेलअघि नाम मागेका थियौँ, तर, उहाँले दिनु भएन । त्यसपछि हामीलाई एएफसीले समयमै कप्तानको नाम नदिए जरिवानामा पर्ने जनाएपछि सिनियर खेलाडीको रूपमा रेनुका नगरकोटेको नाम एन्फामा पठाएका थियौँ,” श्रेष्ठले भनिन्, “हामीलाई सावित्रा भण्डारी कप्तान भएकोमा कुनै गुनासो थिएन र अहिले पनि छैन । हामी नयाँ कप्तान आउँदा शुभकामना र बधाई दिने योजनामा थियौँ । तर, उहाँले खेलका निम्ति खेलाडी मैदान प्रवेश गर्ने बेला मात्रै टिमको कप्तान सावित्रा हो भन्नुभयो ।”

श्रेष्ठले प्रधानमन्त्री ओलीसँग टिमको अन्तरक्रियाका निम्ति प्रशिक्षक वाइल्डलाई जानकारी गराइएको स्पष्ट पारिन् । वाइल्डले अनुमति दिएपछि मात्र प्रधानमन्त्री र टिमबीच भर्चुअल संवाद गरिएको उनले बताइन् ।

टिमसँगै गएका एक अफिसियलले भने उक्त भर्चुअल संवादमा नेपालबाट सुरुमा एन्फा अध्यक्ष मात्र सहभागी हुने भनिएको बाह्रखरीसँग बताए । भिडियो कल सुरु भएपछि एन्फा अध्यक्षले प्रधानमन्त्रीले शुभकामना दिन लागेको भन्दा सबै खेलाडी अचम्मित बनेका उनले जानकारी दिए । प्रधानमन्त्रीकै निम्ति भिडियो कलमै करिब १५ मिनेट पर्खिएको समेत ती अफिसियलले बताए ।

वाइल्डले बलियो टिम उज्वेकिस्तानसँगको खेलअघि प्रधानमन्त्री र अरू खेलकुद पदाधिकारीसित भर्चुअल संवाद हुँदा खेलाडीमाथि चर्को दबाब थपिएको बताएका थिए । एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काले वाइल्डले प्रशिक्षकको व्यावसायिक मर्यादाविपरीत बोलेको टिप्पणी गरे ।

“नेपालको बारेमा राम्रो बोल्नुभयो वा भएन, म त्यो पक्षमा जान्नँ । एक व्यावसायिक प्रशिक्षकको नाताले खेल हारिसकेपछि त्यस्तो कुराहरू नआउनुपर्ने थियो । प्रशिक्षक भएपछि हारको जिम्मेवारी लिन सक्नुपर्छ,” खड्काले भने, “कोचको नैतिकताले त्यस्तो भन्न दिन्छ पनि जस्तो मलाई लाग्दैन । व्यावसायिक प्रशिक्षकको रूपमा प्रधानमन्त्रीले दिएको शुभकामनालाई दबाब भन्नु उचित हुँदै हैन । दबाबपूर्ण स्थितिमा पनि पेनाल्टी प्रहारका निम्ति जानलाई त खेलाडीहरूलाई तयार गर्नुपर्ने प्रशिक्षकले नै होला नि !”

डाइरेक्टर खड्काले वाइल्डले अन्तर्वातामा बोल्नुभन्दा नेपाल फर्किएर खेलाडी, अफिसियल र एन्फासँग टिमको कमजोरीलगायत बारेमा छलफल गर्नु उपयुक्त हुने बताए ।

अन्तर्वार्तामा प्रशिक्षक वाइल्डले कम्प्युटर र डाटासँग खेल्न नसक्ने सहायक प्रशिक्षक आफूलाई नचाहिने बताएका थिए । उक्त भनाइ सिधा सहायक प्रशिक्षक राजेन्द्र तामाङमाथिको कटाक्ष थियो ।

वाइल्डको प्रतिक्रियाप्रति स्पष्टीकरण दिँदा तामाङ शान्त देखिए । उनले वाइल्डमाथि आक्रोश पोखेनन् । बरु, उल्टै वाइल्डसँग काम गर्न पाउँदा आफूले प्रो–प्रशिक्षकमा हुने गुणका बारेमा सिक्ने मौका पाएको बताए ।

“मलाई पावरप्वाइन्ट बनाएर प्रेजेन्टेसन दिनू भनेर भनेको थियो । त्यति बेला मैले हामीले नेपालमा भिडियो काटेर देखाउने गरेका छौँ भनेर भनेको थिएँ । तपाईंले जस्तो एनिमेसनमा बनाउनचाहिँ मलाई गाह्रो छ भनेको थिएँ । बरु, तपाईंले मलाई मैदानमा जे गर भन्नुहुन्छ म गर्न तयार छु भनेर भनेको थिएँ,” तामाङले भने, “उहाँले मेरो बारे जे भन्नु भए पनि मान्छे राम्रो हुनुहुन्थ्यो । ममा पनि प्रो प्रशिक्षकसँग काम गर्दा कस्तो हुन्छ भन्ने जिज्ञासा थियो । त्यसैले यसअघिको मुख्य प्रशिक्षकमै भए पनि सहायक प्रशिक्षकको रूपमा उहाँसँग काम गरेँ । युरोपका मान्छे स्वभावलै कडा मिजासका हुन्छन् । ठाडो तरिकाको भए पनि उहाँसँग काम गर्दा मैले धेरै कुराहरू सिक्ने अवसर पाएँ ।”

नेपाली फुटबलमा देखिएको प्रशिक्षक विवाद नौलो भने होइन । ०७९ मा तत्कालीन नेपाली पुरुष टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, खेलाडी र एन्फाका पदाधिकारीबीच तेहोरो खिचातानी चलेको थियो ।

त्यस बेला अल्मुताइरीले १० नियमित खेलाडीलाई राष्ट्रिय टिममा समेटेका थिएनन् । त्यसपछि खेलाडीसँगै एन्फाका तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का, कृष्णा थापा र कार्यसमिति सदस्य दावा लामाले अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रशिक्षकमाथि प्रश्न उठाएका थिए ।

अध्यक्ष पनि रुष्ट 
तीन वर्षअघि अर्थात् ०७९ असार ६ गते एन्फाको नेतृत्वमा आएका अध्यक्ष पंकजविक्रम नेम्वाङ सञ्चारमाध्यमसामु निकै कम बोल्छन् । नेतृत्वमा आएको तीन वर्ष पुगिसक्दा उनले सञ्चारमाध्यममा दिएका अन्तर्वार्ता औँलामा गन्न सकिनेभन्दा कम छन् ।

शान्त छविका अध्यक्ष नेम्वाङ सोमबार एन्फा कम्प्लेक्समा आयोजित यू–२० महिला टिमको बिदाइ कार्यक्रममा कड्किए । “प्रधानमन्त्रीले शुभकामना दिने भनेको आफ्नो देशको टिमले राम्रो गरून् भनेर नै हो । त्यसले दबाब थप्यो भनेर प्रधानमन्त्रीलाई नै विवादमा ल्याउन खोज्नु राम्रो हुँदै होइन,” उनले भने, “म हाम्रो युवा टिमको प्रशिक्षकलाई आग्रह गर्न चाहन्छु– तपाईं आज नै यो टिमको कप्तान चयन गरेर जानुहोला । फेरि, तपाईंहरू प्रतियोगिता खेल्नुअघि मैले कप्तान को हो भनेर टिमको म्यानेजरलाई सोध्नुपर्ने अवस्था नआओस् ।”

नेम्वाङले प्रशिक्षक वाइल्ड फुटबलको व्यावसायिक धर्म निभाउन चुकेको टिप्पणी समेत गरे । “प्रशिक्षकज्यूले मिडियामा भन्नुभएका कुराहरू हामीसँग भन्नुभएको भए राम्रो हुन्थ्यो । हामी महिला टिमलाई विश्वकपसम्म पुर्‍याउने मिसनमा छौँ । त्यसैकारण पक्कै पनि त्यसलाई सम्बोधन गर्ने नै थियौँ । उहाँ फुटबलको प्रोफेसनालिजमा चुक्नुभयो । तर, हामी त्यस्तो गर्दैनौँ । हामी व्यावसायिक हिसाबले नै यो विषयलाई सुल्झाउनेछौँ,” उनले थपे ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्