site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप लामिछाने बने डेनिम एन्ड डेभिल्सको ब्रान्ड एम्बास्डर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने डेनिम एन्ड डेभिल्सको ब्रान्ड एम्बास्डर नियुक्त भएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा क्लथिङ ब्रान्ड डेनिम एन्ड डेभिल्सले सन्दीपसँग तीन वर्षका लागि सम्झौता गरेको हो ।

कम्पनीका तर्फबाट सीईओ धनश्याम काफ्ले र सन्दीपले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतापछि सन्दीपले डेनिम एन्ड डेभिल्ससँगको सम्बन्ध सुरुदेखि नै विशेष रहेको उल्लेख गर्दै सहकार्यमा खुसी व्यक्त गरे ।

"उहाँहरूसँग मेरो लामो स्टोरी छ । सन् २०१८ मा घनश्याम दाइसँग मिटिङ भएपछि सहकार्य भएको थियो । त्यो यात्रा आफैँमा सुन्दर थियो," उनले भने ।

सीईओ काफ्लेले सन्दीप डेनिम एन्ड डेभिल्सका पहिलो ब्रान्ड एम्बास्डर रहेको र पुनः सहकार्य भएको बताए ।

"आजको कार्यक्रम साइनिङ सेरेमोनीभन्दा पनि रिसाइनिङ सेरेमोनी हो," काफ्लेले भने, "हाम्रो ब्रान्डको पहिलो एम्बास्डर नै सन्दीप हुनुहुन्थ्यो । बीचमा केही कारणले रोकिएको सहकार्य फेरि सुरु भएको छ ।"

Sandeep-1-1752163033.jpg
 

काफ्लेले सन्दीप आफैँमा एक ब्रान्ड भएकाले उनलाई एम्बास्डर बनाएर कम्पनीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

"सन्दीपको बारेमा धेरै भन्नुपर्दैन । सानै उमेरमा नेपाललाई विश्वमा चिनाएका खेलाडी हुनुहुन्छ," उनले भने ।

सन्दीपले नेपालका लागि ६२ एकदिवसीय र ६२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ओडीआईमा १२७ र टी२०आईमा ११७ विकेट लिएका छन् । उनले ओडीआईमा ४७५ रन पनि बनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्