site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जन्मजात नागरिकता अन्त्य गर्ने ट्रम्पको आदेशमा संघीय न्यायाधीशले लगाए रोक

काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मजात नागरिकता अन्त्य गर्ने कार्यकारी आदेशमा रोक लगाउने फैसला गरेका छन् ।

न्यू ह्याम्पशायरस्थित अमेरिकी जिल्ला न्यायाधीश जोसेफ लाप्लान्टको यो फैसला महत्वपूर्ण मानिएको छ । अमेरिकाको सर्वोच्च अदालतले गत महिना तल्लो अदालतका न्यायाधीशहरूलाई राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्ने शक्तिलाई सीमित गरेको थियो ।

तर, वादीहरूलाई सामुहिक रूपमा दर्ता मुद्दामार्फत आदेशको रोक लगाउने क्षमता कायम राखेको थियो । बिहीबार न्यू ह्याम्पशायरमा अमेरिकी जिल्ला न्यायाधीश लाप्लान्टको फैसलामा त्यही भएको थियो । ट्रम्पको कार्यकारी आदेशलाई रोक्न अध्यागमन काम गर्ने अधिकारका लागि वकिलहरूले उक्त मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीशको बेन्चबाट फैसला सुनाउँदै लाप्लान्टले अध्यागमन अधिकारका लागि काम गर्ने वकिलको अनुरोधलाई माग स्वीकार गरे र फेब्रुअरी २० पछि जन्मिएका शिशुहरूलाई ट्रम्पको आदेश लागु हुनबाट रोक्ने अस्थायी आदेश जारी गरे ।
  
उनले भने, “यो निर्णय अदालतका लागि सजिलो छ । अमेरिकी नागरिकता खोस्नु र पुरानो नीतिमा अचानक परिवर्तन गर्नु ठूलो क्षति हो ।”
ती न्यायाधीशले अमेरिकी नागरिकता संसारको सबैभन्दा ठूलो सम्मान भएको बताएका छन् । 

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशद्वारा नियुक्त यी न्यायाधीशले ट्रम्प प्रशासनलाई अपिल गर्न समय दिन केही दिनका लागि आफ्नो आदेश स्थगित गर्ने बताए ।
 
उनले बिहीबार ३८ पृष्ठको लिखित आदेश पनि जारी गरे । लाप्लान्टले कार्यकारी आदेशले बिनाकानुन र बहस संविधानविरुद्धको नयाँ नीति ल्याएर धेरैलाई नागरिकता खोस्न खोज्दा ठूलो क्षति हुने बताएका छन् । यो रोक्न निषेधाज्ञा जरुरी रहेको उनको तर्क छ । 

यो फैसला ट्रम्पको नीतिविरुद्ध बलियो कदम हुनसक्छ किनभने अन्य अदालतहरूले पनि सर्वोच्च अदालतको निर्णयलाई हेरेर आफ्ना फैसला पुनर्विचार गरिरहेका छन् ।

ह्वाइट हाउसले यो फैसलालाई सर्वोच्च अदालतको आदेशविरुद्ध गैरकानुनी कदम भनेको छ ।

ह्वाइट हाउसका प्रवक्ता ह्यारिसन फिल्ड्सले भने, “यो न्यायाधीशले गलत तरिकाले सामुहिक मुद्दाको प्रयोग गरेर कानुन उल्लंघन गरे । ट्रम्प प्रशासनले यस्ता न्यायाधीशहरूको कदमविरुद्ध कडा लडाइँ लड्नेछ ।” सीएनएन

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ०७:१२
प्रतिक्रिया दिनुहोस्