
काठमाडौं । इंग्लिस क्लब वेस्टहम युनाइटेडका फरवार्ड मोहम्मद कुडुस टोटनहममा अनुबन्धित भएका छन् । शुक्रबार टोटनहमले कुडुससँग लामो समयका निम्ति सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर, क्लबले कुडुससँको सम्झौता अवधि र रकबारे खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार, कुडुसलाई क्लबले ५५ मिलियन पाउन्डमा ६ वर्षको निम्ति अनुबन्ध गरेको हो ।
कुडुस सन् २०२३ मा डच टोली आयाक्सबाट वेस्टहम आएका थिए । उनी वेस्टहममा ४० मिलियन पाउन्डमा अनुबन्धित भएका थिए । कुडुसले वेस्टहममा दुई सिजन बिताउँदा १३ गोल र १२ असिस्ट गरेका थिए ।
“म क्लबमा अनुबन्धित हुनुको मुख्य कारण भनेको क्लबको योजना हो । मैले क्लबका प्रशिक्षक थोमस फ्रान्कले थुप्रै खेलाडी उत्पादन गरेको देखेको छु,” क्लबसँगको सम्झौतापछि कुडुसले भने ।
टोटनहमले गत जुनमा टोलीका प्रशिक्षक आंगे पोस्टेकोग्लुलाई बर्खास्त गर्दै थोमस फ्रान्कलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।