काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले ‘हाई कम्प्युटर’ पूर्वाधार खरिदमा १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली र कान्तिपथस्थित वल्र्ड डिष्ट्रिब्युसन नेपाल प्रा.लि. र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ छन् ।
दायर गरिएको मुद्दामा प्रत्येकसँग अख्तियारले १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा हाई कम्प्युटर पूर्वाधार खरिदका लागि गरिएको बोलपत्रमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।