site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युवा हाम्रा कि अरू कसैका !

साँच्चिकै आफूले गुमाएपछि बल्ल गुमाउनुको असली पीडाबोध हुने रहेछ । अब त्यो युवावय म जीवनभरको कमाइ तिरेर पनि फिर्ता गर्न सक्दिनँ । समयभन्दा बलियो मेरो मन बनाउन सके पनि तन बनाउन सक्दिनँ म । यो नियति म एउटाको मात्र होइन, सिंगो देशको पनि हो ।

मान्छे घुमन्ते भएरै विकसित भएको हो । आवश्यकताको परिपूर्ति गर्न सीमित साधनस्रोतले अपुग भएको आज मात्र होइन, युगौँदेखि मान्छे अभावसँग जुध्दै आएको छ । यत्ति हो, अभावका आयाम दिनदिनै फेरिँदा छन् । घुम्नुको सनातन परम्परालाई अभावका गोरेटोले तन्काइरहेछन् ।

गाउँ रित्तिएकोमा, मर्दापर्दा मदौरु र मुर्दा बोक्ने कोही नहुँदाका दृश्य पर्दा किताबका पानामा अझै बढी दुख्ने गरी देखिन्छन् । बाउआमाको वृद्धावस्थामा स्याहारसुसार गर्नुपर्ने, कालक्षेपन गर्नुपर्ने, काजकिरिया गर्नुपर्ने आदिम मान्यता हाम्रो मानसिकतामा गहिरिएर बसेको छ ।

यसको सकारात्मक पक्ष धेरै हुनाले हामीले यसलाई आदर्श बनाएका छौँ । चाहेर वा नचाहेर देशैभित्र रहनेले पनि आफूलाई द्विविधाको धारमा उभ्याएको देखिन्छ ।

शरीर देशभित्र मन बाहिरतिर पुगेको धेरै कुराले देखाउँछ । अर्कोतिर, सकीनसकी जे जसरी होस्, रहर या बाध्यताले विदेशिएका अधिकांश नेपालीमा अनौठो रूपमा राष्ट्रियता जाग्छ । त्यही राष्ट्रियता यता अहम् जस्तो देखिन्छ उता शालीनता !

यता बस्नेले आकाश थामेको, देश जोगाएको गर्व गर्छ, उताकोले पूरै अर्थतन्त्र धानेको धक्कु लगाउँछ । राष्ट्रियता जोगाउन दुवैतिरका नागरिकको उत्तिकै महत्त्व छ । यत्ति हो कि राजनीतिले आफ्नो दुनो सोझ्याउन कताको नागरिकलाई उपयोग गर्छ ?

कहिले जिउँदो त कहिले मुर्दा ! राजनीतिमा सासको खास अर्थ हुँदैन शरीरको जति । जिउँदोले अस्पताल लैजाने मान्छे भेट्दैन, मरेपछि मलामीको लामै लस्कर भेट्न सक्छ । साँच्चै राजनीति संसारकै सबैभन्दा ठूलो प्रयोगशाला हो ।

घुम्ने कुरासँग राजनीति जोडिएपछि कुरा घुम्नघुम्न लागेकोमा माफै माग्नुपर्ने हुनसक्छ । संसार सकिएपछि विज्ञान प्रविधि र वैज्ञानिक धर्तीभन्दा पर चन्द्रमा, मंगल ग्रह र अन्तरिक्षमा घुमिसके । हामी रारा र फोक्सुण्डो पुगेर रिल सेयर गर्नमै मक्ख छौँ ।

कुण्ठा पोखिस् ! नभन्नु होला । कुनामा बसेर संसार चियाएको इत्ति फाइदा लिएको मात्र हो । कुरा कुनैबाट सुरु गरूँ होला !

हिमाली कन्दरा हो यो । खासै बस्न लायक देखिन्न । हिजो जनसंख्या कम हुँदा पर्याप्त थियो होला । बिस्तारै केही पनि पुग्ने देखिन्न । पानी, वन अनि खेतीयोग्य जमिन मानव बस्तीका बलिया मानक हुन् ।

उसो त आज मरुभूमि अनि समुद्रको माथि सहर विकसित भइसके । फेरि पनि नेपालको सामाजिक र आर्थिक हैसियतमा ती तीनवटा कुराको उत्तिकै महत्त्व छ, कम्तीमा आजसम्म ।

बिस्तारै यी नितान्त आवश्यक कुरासँग मान्छे टाढिँदै गएको छ । विकसित भएको छ । आधुनिक भएको छ । सहरिया भएको छ । प्रकृति नजोगाएर अप्राकृतिक या प्रकृतिविरोधी भएको छ । घुमाइ, डुलाइ, हिँडाइ मान्छेका लागि निश्चित कालखण्डमा हानिकारक साबित हुने रहेछ ! 

अहिलेको नेपाल त्यही खुड्किलोमा अडिएको छ । बाले बनाएको तीनतले घर गाउँमा ढलिसक्यो । छोरोलाई दर्जनौँ घरबेटीले ठेलिसके पटकपटक सहरमा । समयले समयलाई ठेलिरहेको प्रतीत हुन्छ ।

बाले स्कुलमा भर्ना गरेकै दिन भन्नुभएको थियो, ‘राम्रोसँग पढेस् ! भोलिपर्सि तँलाई पढाउनीजस्तै मास्टर हुनुपर्छ ।’

एउटा यात्रा सकिने बेला सम्झिँदै छु, बाका मास्टरी कुरा । नत्र त संस्कृतका श्लोक घोकाएर थाक्नु हुन्नथ्यो बा ।

म नेपाली र संस्कृत मिसिएको होल्डर मिलमा कुटेको धानजस्तो भएँ । ढिकीभन्दा त कति हो कति सजिलो थियो नि ! मेरो जीवनमा नेपाली अलिअलि कनिके चामल भएर केलाइयो । बाँकी त खस्रो भुसै पो भएर उड्यो कि ! कनिकै सही, भात पाकेको छ । कनीकुथी शब्द जोडेर फालिएको छ । एकाध पाठकका आँखा घोच्न भएको छ । ज्यादै असन्तोक लिन नि हुन्न ।

पाइला टेकेका ठाउँका एकाध शब्द आउने रै’छन् । गण्डकी छोडेर कर्णाली पुगेकोमा सुरुसुरुमा त अन्तरिक्षमै उक्लेको अत्यास बोकेँ मैले पनि । सामाजिक खाडल सम्याउन आएको आफैँ कुवामा जाकिएको निरुत्साहले पोलिरह्यो लामो समय ।

अलिकति फेरबदल गर्न पसेको आफैँ फेरिएपछि बल्ल चेत खुल्यो कि म कोही होइन, केही होइन । समाज त खाडलै खाडलको एक समूह रहेछ । पचासेले छोएपछि बल्ल देखिए खाडलभित्र पनि असंख्य खाडल रहेछन् !

असमानताको यो व्यापकता पत्तो लगाउँदा लगाउँदै आफैँ लापता हुन सक्ने अवस्था सामान्य रहेछ । देखिने कुरा त फगत मुतको न्यानो !

गैरसरकारी संस्थाले खोज र अनुसन्धान गरेको प्रोफाइल होइन यो । फेरि पनि समयले पारेका गाँठामा अडिने रहेछ विचारको गुच्छा । केही समयअघिसम्म गुल्जार ती गाउँका चोकचौराहा र चौतारा सुनसान देख्दा गाउँ जाने बस फर्किंदा निराशा भरेर आउँछ ।

अनि, सहरमा वल्लो कोठा र पल्लो कोठामा बाँडिदिन्छ बराबर । पल्लो कोठामा अर्को ग्रहबाट कोही आएर बसेको होस्, भाषा नमिलेको होस्, संकेत नबुझिएको होस् । ओहो, सहर कति साघुँरिएको ! गाउँमा मान्छेलाई एकान्तले साघुँरो पारेझैँ ।

समानता एक अमानवीय शब्द हो । समाजमा समानता ल्याउने सपना फगत मृगमरीचिका हो । एक नारा हो । राजनीतिको एक सजिलो बाटो हो । मानवीय जिन नै प्रतिस्पर्धाको अस्तित्वमा अडिएको हुन्छ ।

प्रतिस्पर्धाले खाडल पुर्ने होइन, बढाउँछ मात्र । यत्तिचाहिँ हो कि प्रतिस्पर्धा स्वस्थ हुन सके ती खाडल साना हुन्छन् । सजिलोसँग फड्किन सकिन्छ । तर, त्यो सानो स्वस्थ शब्द नै अस्वस्थ भएको छ आजको दिनमा ।

आज नेपाल रित्तो हुँदै गएको छ । हिजोको सहरजस्तो गाउँ आज जंगलमा रूपान्तर भएको छ । मान्छे विदेशिनु नराम्रो होइन । आवश्यकता पूरा गर्न, सीप र कौशल हासिल गर्न अनि रोजगारीको खोजीमा थप अवसर रोज्न मान्छे विदेशिन्छ ।

हिजो पनि मान्छे घुमन्ते नै थियो । कारण फरक होलान्, तर मान्छे स्थिर रहने रैथाने प्राणी अवश्य होइन । नत्र त जेलमा मान्छेले सुखानुभूति गर्दो हो । शिक्षा, स्वास्थ्य, भूगोल, आर्थिक स्थिति सबै कुराका असमानता हुँदाहुँदै पनि नेपालीबीच अहिले एक समानता छ, त्यो हो, वैदेशिक मोह र सहज आर्थिक उपार्जन ।

हुनत यो विश्वव्यापी मानवीय समस्या होला, तर आँखाअघिका ताजा दृश्य हुन् यी । नेपाली गाउँघर पनि गुल्जार हुने अनि यो वैदेशिक आवतजावत पनि सजिलो र देशलाई हानि नपुग्ने खालको हुन सक्ने केही सम्भावना छन् भावी दिनहरूमा ?

प्रश्नको गुजुल्टो फुकाउन कुनै जवाफ तयार छैनन् ।

रित्तिँदै गएको गाउँ र नफर्कंदै गएको मन देख्दा मौनता पनि मौन हुन्छ अनि पोखिन्छ छताछुल्ल ।

एक बिहान, उज्यालो आउनुअघि नै कुखुरा बास्दैन, अचानोमा चोट लाग्दैन, चुल्होमा धुवाँ उठ्दैन । त्यो गाउँ, जुन कहिल्यै निदाउँदैनथ्यो, अब थाकेजस्तो देखिन्छ ।

सहरझैँ रमरझ र रसरंगमा थियो कुनै दिन । हाँसो, रोदन, रोपाइँको भाका, चाडपर्वको चहलपहल । तर, आज त्यो गाउँ जंगलजस्तै सुनसान छ ।

गाउँको हरियाली त अझै हरियाली नै छ, तर हराएका छन् मान्छेहरू ।

आज नेपाल रित्तिँदै छ । भूमि मात्र होइन, जीवन र आत्माबाटै गाउँ रित्तिँदै छ । रित्तिँदै छ युवाशक्ति र देशकै भविष्य ।

तर, यो केवल नेपालको कथा होइन । यो त मानवको दीर्घयात्रा एक क्रम पनि हो । जहाँ मान्छे सधैँ खोजीमा हुन्छ, सधैँ बाटोमा हुन्छ ।

घाम र छायाको पछाडि, पेट र सपना दुवैलाई लिएर मान्छे विदेशिन्छ । विदेशिनु पाप होइन । त्यो त आवश्यकता हो, अवसर हो । र, कहिलेकाहीँ त अवस्थाले थोपरेको विवशता पनि ।

तर, चिन्ता त्यो होइन कि मान्छे किन गए ? चिन्ता यो हो, किन फर्किएनन् ?

आज नेपाली समाजमा एउटा अदृश्य समानता फैलिएको छ । जात, क्षेत्र, भाषा जेसुकै भए पनि सबैमा छ एक साझा मोह, विदेश जाने ।

यो मोह आर्थिक हो, मानसिक हो र भविष्यप्रतिको विश्वासमा खिया लागेपछि उब्जिएको अस्थायी आश्रयस्थल पनि ।

फेरि प्रश्न उठ्छ, के यो अवस्था सदासर्वदा यस्तै रहन्छ ? के गाउँले फेरि गीत गाउनेछ ? के देश फर्कने बाटो खुल्नेछ ? सम्भावना छन्, तर सर्तहरू पनि उत्तिकै पेचिला छन् ।

विदेशिएका युवाहरू फर्केर गाउँमा उद्योग खोल्न सक्छन् । राज्यले सीपमा आधारित तालिम, प्रविधि र पूर्वाधार दिन सक्छ । गाउँलाई मात्रै होइन, गाउँको आत्मालाई जीवित राख्न सकिने सहृदय नीति बन्न सक्छ भने गाउँ फेरि बाँच्नेछ ।

त्यो बँचाइले देशलाई पनि बचाउनेछ । तर, देश फर्कने बाटो कुनै सडकले मात्र खोल्दैन । त्यो त राज्यको विशाल मनले खोल्न सक्छ । मन तब फर्किन्छ जब उसले माया देख्छ, सम्भावना देख्छ, सम्मान देख्छ ।

हामीले देश फर्किएका हातहरूलाई ‘परदेशको फिर्ता सामान’ होइन, ‘देशको असल पुँजी’ मान्न सकेनौँ भने फर्कंदै नगएको मन फेरि पनि आफ्नै मुलुक पराईजस्तो ठान्नेछ ।

यो लेखनी कुनै सपना बेच्ने व्यापार होइन, न त कुनै दोषारोपणको आवाज नै हो । एक चिन्ता हो, जो नचाहेर पनि सबै नेपालीको साझा भएको छ ।

यो त केवल एक हृदयको चोटको अनुवाद हो, गाउँको, देशको र देशवासी अनि देश छोडेका ती अनेकौं नागरिकको ।

गाउँहरू फेरि रमाउनेछन् ? तर, त्यो रमाइलो बनाउन आज एकदुई दाना बीउ छर्न ढिलो भयो कि !

त्यसै त कोही फर्कन्न । सके बाआमा, सम्पत्ति सबै लैजान्छ । नभए किस्ताबन्दीमा नेपाल छोड्छ र त्यसरी नै विदेश जोड्छ । यो वैदेशिक आवागमनलाई सुखमय बनाउनमा राज्यको ठूलो योगदान आवश्यक देखिन्छ ।

स्पष्ट, पारदर्शी र कार्यान्वयन गर्न मिल्ने कानुन, आर्थिक अनुशासन, काममा छरितोपन, समयको उपयोग, महँगी नियन्त्रण, कानुनको पालना गर्ने/गराउनेजस्ता केही देखिने गरी काम गर्ने हो भने कैयौँ नेपाली थप नेपालीलाई रोजगारीको अवसर दिने गरी स्वदेश फर्कन्छन् ।

आफ्नो देशको माया सबैलाई लाग्छ । उताको संसार भिन्न हो । संस्कार भिन्न हो । नियम र नियमनले खारिएको हुनाले मात्र ती मुलुक आकर्षक भएका हुन् । ठूला उद्योग, ठूला घर अनि चिल्ला सवारी सडक र सामुद्रिक किनारहरू त एकपल्ट देख्दा मात्र राम्रो लाग्ने हो ।

हाम्रा उकालीओराली, चिसो पानीका ढुंगेधारा, जंगली अनि घरायसी फलफूल अनि हाम्रा सम्बन्धलाई प्रगाढ र आत्मीय बनाउने हाम्रा चाडपर्व र लोकसंस्कृत्ति कसैले भुल्नै सक्दैन । पाइलैपिच्छेका भिन्न रमणीय दृश्य त हाम्रा निधि नै भए ।

चिन्ता होइन, भविष्यको सकारात्मक चिन्तनविना केही सम्भव छैन । वैज्ञानिक युगलाई कसैले रोक्न सक्दैन । स्वतन्त्रताको हनन हुनै सक्दैन । त्यसैले खुसीखुसी फर्किने वातावरण बनाउने योजना बन्नैपर्छ ।

नेपालको तुलना संसारका अन्य कुनै देशसँग हुन नसक्ने राष्ट्रियस्तरका एकदुई निर्णय मात्रले पनि सचेत नागरिकको मन फेरिनेछ । जानेलाई रोक्न नसकिएला, तर फर्किन चाहनेलाई स्वागत गर्न पनि पछि परियो भने मुलुक रित्तिने नै छ पूर्ण रूपमा ।

इमानदारी एउटा लेपनजस्तो भएको छ आज । जीवनको पातोमा लगाइएको रङ र भ्रष्ट विचारको खियाको संघर्ष चलेको देखिन्छ । निजामती शिक्षक, प्रहरी, सेना अनि राजनीतिक पदले रोकिएका नेपाली युवामा पनि आत्मैदेखि सन्तुष्ट भएको देखिँदैन ।

प्रत्यक्ष/परोक्ष उनीहरूका पनि गुनासा र विरोध छन् राज्य संरचनासँग । उल्लेख्य क्षेत्रमा रहेर पर्याप्त आर्थिक उपार्जन गर्ने, सन्तोष गर्ने र आफ्नो काममा रचनात्मक भएर लाग्ने तीनवटा पक्ष छन् । यस्ता कुराको मूल्यांकन हरेक क्षेत्रमा आन्तरिक रूपमा हुन्छ भनिन्छ ।

नियम छ । ऐन कानुन छ । तर, छाया र प्रकाशको भूमिका पनि उत्तिकै छ । आदर्श र व्यवहारको तालमेल नमिल्नु अहिलेसम्मको नेपालको गहिरो समस्या हो ।

जो सीमा नाघेर गए उनीहरू पसिना बगाउँछन् । दुःख मान्दैनन् । पैसा पठाउन पनि पैसा खर्च हुन्छ । दुःख मान्दैनन् । पानी, ग्यास, बिजुली, सरकारी राजस्व, भिसा, टिकट सबै अनलाइनबाट यथासमयमै हुन्छ र त दुःख मान्दैनन् । 

जब देश फर्किन्छन्, अनलाइन भन्ने कुरा मोबाइलमा निलो बत्ती बल्नु मात्र हो भन्ने बुझेपछि मज्जाले दुःखी हुन्छन् । क्लिकको युग कलम घोट्ने पुस्ताले चलाएको देखेर नाक खुम्च्याउँछ अनि छिटोभन्दा छिटो आफ्नो देश छोडेर पराई मुलुक जान आत्तिन्छन् आजका युवा ।

युवा आफैँमा सक्रिय उमेर हो । त्यो बेला सीप, पसिना, बल, दिल, दिमाग सबैको भरपुर प्रयोग गर्छ मान्छेले । तर, हामीकहाँ दालभातको जोहो पहिलो प्राथमिकतामा राख्नु छ युवालाई । कृत्रिम बौद्धिकताको युगमा हामी हाम्रा परम्परागत विकासे शैलीबाट माथि उठ्न सकेका छैनौँ ।

हाम्रो मानसिकता हजुरबा घरमा जिउँदो हुँदासम्म परिवारको निर्णय छोरोले गर्न नपाइने या नहुनेमै अल्झिएको छ । घर र देश उस्तै हो, आकार र संख्या फरक मात्र । विचारभावको आयतन भिन्न मात्रै त हो ।

यो विषयमा थिंक ट्यांकको थट लिनुपर्ने हो राज्यले । अबेर भएन र यसबारे सोच्न, योजना बनाउन अनि निर्णय र कार्यान्वयन गर्न ? गाउँ रित्तिए भनेर नारा लगाउने सहरियाहरू पनि त देश छोड्न आतुर छन् ।

आफ्नो कुरालाई पनि आफ्नो बनाइराख्न त्यति सजिलो छैन, जति हामी सोच्दछौँ । युवा हाम्रा तर युवाको शक्ति अरूले नै प्रयोग गर्नुले देश कुन दिशामा छ ? प्रश्न फेरि पनि अनुत्तरित नै छ ।

(कागकोट, डोल्पा)
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०५:४७
प्रतिक्रिया दिनुहोस्