
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मकरूपमा लिएको बताएका छन् ।
शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वामपन्थी एकताका लागि पहल गर्न राजनीतिका फर्कन्छु भन्नु सकारात्मक भएको बताए ।
नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकतावद्ध गर्न जरुरी रहेको उनले बताए । एमालेले एकतावद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको खनालको आरोप छ ।
एमालेले वामपन्थी एकता गर्न चाहे ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको खनालको भनाइ छ ।
“अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले हो । त्यो समूहले नै अरु सबैलाई एकतावद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको हो,” पूर्वप्रधानमन्त्री खनालले भने, “एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुने सम्भावना छ ।”
विद्या भण्डारी यो महसुस गरेर राजनीतिमा प्रवेश गर्न लागेको भए यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको धारणा छ । “एमाले अध्यक्ष बनेर वाम एकताका लागि पहलकदमी गर्छु भन्ने उद्देश्य हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ,” उनले भने । –न्युज एजेन्सी नेपाल