site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमा भारतीय पाइलट संघको आपत्ति

काठमाडौं । अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनप्रति एयरलाइन पाइलट्स एसोसिएसन अफ इन्डिया (एएलपीए इन्डिया)ले आपत्ति जनाएको छ ।

पाइलट संघले एयर इन्डिया दुर्घटनाको अनुसन्धानमा योग्य व्यक्तिहरूलाई समावेश नगरिएको भन्दै आपत्ति जनाएको बीबीसी हिन्दीले जनाएको छ ।

एएलपीए इन्डियाका अध्यक्ष क्याप्टेन स्याम थमसले भने, “यो अनुसन्धानले पाइलटहरूलाई दोषी ठहर्‍याएको छ र हामी यो सोचमाथि आपत्ति जनाउँछौँ ।”

दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनानुसार, टेकअफको केही सेकेन्डमै विमानका दुवै इन्जिन बन्द भएका थिए ।

प्रतिवेदनमा विमानका दुवै पाइलटबीच भएको कुराकानी पनि सार्वजनिक गरिएको छ । इन्धन आपूर्ति बन्द भएसँगै इन्जिन १ र इन्जिन २ को गति टेकअफ स्तरभन्दा कम भएको थियो ।

प्रतिवेदनानुसार, ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कोलाई सोधेको सुनिन्छ, “तिमीले किन कटअफ गर्‍यौ ?”

अर्को पाइलटले जवाफ दिन्छन्, “मैले त्यसो गरेको छैन ।”

यो प्रश्न कसले सोधेको र जवाफ दिएको भन्ने अझै स्पष्ट भएको छैन ।

पाइलट संघले अधिकारीहरूसँग अनुसन्धान प्रक्रियामा आफूहरूलाई पनि समावेश गर्न अपिल गरेको छ । “अनुसन्धानमा आवश्यक पारदर्शिता कायम गर्न हामी फेरि हामीलाई पनि पर्यवेक्षकका रूपमा समावेश गर्न अपिल गर्छौँ,” पाइलट संघले भनेको छ ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्