site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजान्छौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजाने बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पार्टी केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेरहद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट पारे । 

एमालेको आगामी विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको बताए । विसं २०७८ मंसिर १० गते चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको उनले जानकारी दिए ।

महासचिव पोखरेलले पहिलो विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उमेदवार हुने प्रावधान राखिएकामा त्यसलाई सच्याइएको भन्दै त्यसै विधानको प्रावधानलाई टेकेर पुष्प कँडेललाई तेस्रो पटक लेखा आयोगको अध्यक्ष चयन गरिएको बताए ।

नेपाली कांग्रेस र एमाले दुई ठूला पार्टी मिलेर कानुनी र संरचनागत सुधार भएको उनले बताए । “छ–छवटा अध्यादेश जारी गर्ने कुरा, संसद्मा जटिल कानुन निर्माण गर्ने कुरा दुई ठूला पार्टी मिल्दाको परिमाण हो,” उनले भने, “यस्तो बेला पनि हामीमाथि प्रहार भइरहेको छ । त्यो प्रहार सुनियोजित र प्रयोजित छ ।” 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २३:०५
प्रतिक्रिया दिनुहोस्