site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्यामरुनका ९२ वर्षीय राष्ट्रपतिले गरे आठौँ कार्यकालका निम्ति उमेदवारी घोषणा
फाइल तस्बिर : एपी ।

काठमाडौं । क्यामरुनका ९२ वर्षीय राष्ट्रपति पल बियाले आउँदो अक्टोबरमा हुने निर्वाचनमा आफूले आठौँ कार्यकालका निम्ति उमेदवारी दिने घोषणा गरेका छन् । बुढ्यौली उमेरका कारण उनले उमेदवारी नदिने अनुमानबीच यो घोषणा गरिएको हो ।

इक्वेटोरियल गिनीका टियोडोरो ओबियाङपछि पल यिबा अफ्रिकाका दोस्रो लामो समयसम्म शासन गर्ने राष्ट्रपति हुन् । उनी प्रायः बिरामी हुने र विदेशमा रहने गर्छन् ।

गत वर्ष उनको मृत्युको हल्ला फैलिएको थियो । त्यसपछि सरकारले सार्वजनिक रूपमा हल्लाको खण्डन गरेको थियो ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेपछि बिया क्यामरुनका दोस्रो राष्ट्रपति हुन् । उनी सन् १९८२ देखि सत्तामा छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै बियाले अझै राम्रो समय आउने वाचा र शासन गर्ने आफ्नो दृढता दोहोर्‍याएका छन् । उनले लेखेका छन्, “निश्चिन्त रहनुहोस्, तपाईंलाई सेवा गर्ने मेरो दृढता हामीले सामना गरिरहेका गम्भीर चुनौतीसँग मेल खान्छ ।”

बियाको ४० वर्षभन्दा लामो शासनले गहिरो प्रभाव छोडेको छ । उनको सरकारले विभिन्न चुनौतीको सामना गरेको जनाइएको छ ।

उनले सामना गरेका चुनौतीमा भ्रष्टाचारको आरोप र क्यामरुनको अंग्रेजी भाषी प्रान्तमा पृथकतावादी आन्दोलन पनि हो । पृथकतावादी आन्दोलनमा हजारौँलाई विद्यालय छाड्न बाध्य बनाइएको थियो । सुरक्षाकर्मीसँग झडपहरू उल्लेख्य थियो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्