site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले भन्यो– दलाई लामाको उत्तराधिकारी मुद्दा भारतसँगको सम्बन्धमा ‘काँडा’
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । तिब्बती आध्यात्मिक नेता दलाई लामाको उत्तराधिकारीसम्बन्धी मुद्दा चीन–भारत सम्बन्धमा ‘काँडा’का रूपमा रहेको नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले जनाएको छ । यो टिप्पणी सन् २०२० मा दुई देशबीच रक्तपातयुक्त सीमामा भएको झडपपछि भारतका विदेशमन्त्रीले गर्न लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा गरिएको हो ।

“‘झिजाङ’सम्बन्धीे मुद्दाले वास्तवमा चीन–भारत सम्बन्धमा काँडा साबित भएको र भारतका निम्ति बोझ बनेको छ,” नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङको एक्स पोस्टमा उल्लेख छ । चिनियाँहरू तिब्बतलाई ‘झिजाङ’ सम्बोधन गर्छन् ।

यसै महिना ९०औँ जन्मदिनको पूर्वसन्ध्यामा दलाई लामाले आफ्नो उत्तराधिकारीमा चीनको कुनै भूमिका नहुने बताएका थिए । दलाई लामाको ९०औँ जन्मदिनको उक्त कार्यक्रममा भारतीय वरिष्ठ मन्त्रीहरू उपस्थित थिए ।

तिब्बतीहरू दलाई लामाको मृत्युपछि उनको उत्तराधिकारीको जन्म (पुनर्जन्म) हुन्छ भन्ने विश्वास गर्छन् । तर, चीनले दलाई लामाका उत्तराधिकारीलाई आफ्ना नेताहरूले अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ ।

दलाई लामा सन् १९५९ मा तिब्बतमा चिनियाँ शासनविरुद्ध असफल विद्रोहपछि भारतमा निर्वासित जीवन बिताइरहेका छन् ।

भारतीय विदेश सम्बन्धका विज्ञ उनको उपस्थितिले नयाँ दिल्लीलाई चीनविरुद्ध लाभ प्रदान गर्ने बताउँछन् । भारतमा करिब ७० हजार तिब्बती र तिब्बती निर्वासित सरकार पनि छ ।

प्रवक्ता युले कसैको नाम नलिई आफ्नो पोस्टमा भारतका रणनीतिक र शैक्षिक समुदायका केही व्यक्तिले दलाई लामाको पुनर्जन्मबारे अनुचित टिप्पणी गरेको बताएकी छन् ।

एक साताअघि दलाई लामाको ९०औँ जन्मदिन समारोहमा थियो । समारोहमा भारतीय संसदीय र अल्पसंख्यक मामिलामन्त्री किरेन रिजिजु दलाई लामाको छेउमा बसेका थिए । मन्त्री रिजिजुले आफूले केवल आध्यात्मिक नेता र दलाई लामाको कार्यालयले मात्र उनको पुनर्जन्मबारे निर्णय गर्ने अधिकार राख्ने विश्वास गरेको बताएका थिए ।

भारतको विदेश मन्त्रालयले दलाई लामाको जन्मदिनभन्दा दुई दिनअघि जुलाई ४ मा आफूले विश्वास र धार्मिक आस्थासँग सम्बन्धित विषयमा कुनै पक्ष नलिने वा नबोल्ने जनाएको थियो ।

भारतका विदेशमन्त्री एस जयशंकरले जुलाई १५ मा उत्तरी चीनको तियानजिनमा सांघाई सहयोग संगठनअन्तर्गत क्षेत्रीय सुरक्षा बैठकमा भाग लिनेछन् । र, ‘साइडलाइन’मा द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम छ ।

सन् २०२० मा भएको रक्तपातपूर्ण सीमामा झडपपछि भारत र चीनबीचको यो उच्चस्तरीय भ्रमणमध्ये एक हुनेछ । त्यति बेलाको घटनामा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए । अलजजिराबाट ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्