
सिड्नी । “तीनपटक अस्ट्रेलिया प्लेन उडाएर आए तर चौथौपटक प्लेन चढेर आए, अनि मात्र तपाईंहरूलाई भेटने मौका पाएँ, मेरो अहोभाग्य रहेछ तपाईं सबैलाई सुन्ने र भेटने मौका पाएँ ।”
नेपाली आकाशमा ४० वर्ष विमान उडाएका कलाकार, पाइलट तथा अभियन्ता विजय लामाले अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा आफनो भावना यसरी पोखे ।
“इमानको खानी, वीरताको निसानीका रूपमा चिनिएका नेपालीहरू यतिबेला संसारभर छरिएर रहेका छन् र हामी भाग्यमानी भएका छौँ, जुन देशमा गए पनि नेपाली बोल्न पाएका छौँ । आफ्नै दालभात खान पाएका छौँ,” लामाले भने ।
चारपटकको अस्ट्रेलिया यात्रामा तीनपटक कोरोनाकालमा ध्वजावाहक विमान उडाएर आएका पाइलट विजय लामा त्यति बेला मेलवर्न, सिड्नी र क्यानबेराको विमानस्थलमा उत्रे तर अध्यागमन पार नगरी स्वदेश फर्किए । यसपटक गुडविल रेमिटअन्र्तगत युनाइटेड पे रेमिटको सिड्नी कार्यालयको कार्यक्रममा आइपुगेका विजयले रगत पसिनाले कमाएको धन नेपाल पठाउँदा सरकारी बाटो भएर पुगोस् भन्ने कामनाका साथ आफू सिड्नी आइपुगेको बताए ।
मेरो कुरा स्पष्ट छ, “विदेशमा बसेर मिहिनेतको कमाइ नेपाल पठाउँदै गर्दा राज्यको आधिकारिक च्यानलबाट जाओस् र त्यसले दुवै पक्षलाई फाइदा पुगोस् भन्ने हो । मेरो उपस्थिति हुँदै गर्दा युनाइटेड पे रेमिटले यसलाई अक्षरस पालना गरोस् । साथै, अस्ट्रेलिया र नेपाल जोड्ने माध्यम बनोस् भन्ने हो, यसमा कमी कमजोरी नहोस् मेरो शुभकामना,” सामाजिक अभियन्ता समेत रहेका लामाले भने ।
विदेशमा नेपाली समाज बढ्दै गर्दा मुलकको झन्डा बिर्सेर पार्टीको झन्डा बोक्ने प्रचलनले नेपाली समाजलाई नराम्ररी गाजेको उनले बताए ।
एनआरएनले पनि विदेशमा रहेका ८० लाख नेपालीको भावना बोक्न नसकेका कारण अहिले टुक्रिएर, छरिएर आरोप र प्रत्यारोपमा पहिचान गुमाउँदै गएको टिप्पणी गरे । अस्ट्रेलियाको अध्यागमनमा आफूले पाएको आतिथ्यता सम्झदै भने, “यहाँको नेपाली समाज अझै गर्विलो रहेछ, पहिचानलाई बिग्रनबाट समाजका अग्रजहरुले बचाउनुपर्छ ।” आफूले सिड्नीमा रहँंदा नेपालीबाट पाएको सम्मान र सत्कार कहिले नभुल्ने समेत बताए ।
कार्यक्रममा युनाइटेड पे रेमिटका अस्ट्रेलिया संयोजक शुशील पोखरेलले अस्ट्रेलियाबाट नेपाल पठाउने पैसालाई राज्यको आधिकारिक माध्यमबाट नेपाल लैजाने एउटा माध्यम बन्न पाएकोमा खुसी व्यक्त गरे । “हामी गलत बाटो हिँड्ने छैनौँ र सही मार्ग पहिल्याएर विदेशमा मिहिनेतले कमाएको धनलाई सुरक्षित र आधिकारिक बाटोवाट नेपाल लैजान कटिबद्ध छौँ,” पोखरेलले भने ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियामा संस्थापक अध्यक्ष मन केसीले अस्ट्रेलियाबाट नेपाल जाने पैसा सरकारी च्यानलबाट पुगोस् भन्ने आफूहरूको चाहना रहेको र मान्यताप्राप्त रेमिटहरूले यसलाई अक्षरस पालना गर्दै गए यसले नेपाल सरकार र अस्ट्रेलियामा बस्ने नेपालीहरूलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे ।