site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत–पाकिस्तानबीच एक सातामै परमाणु युद्धको खतरा थियो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्ध रोक्न आफू सफल भएको जिकिर गरेका छन् । त्यति बेला दुवै देशबीच परमाणु युद्धको सम्भावना रहेको उनले खुलासा गरेका छन् ।

ह्वाइट हाउसमा ट्रम्पले भने, “हामी युद्ध रोक्नमा निकै सफल भएका छौँ । भारत र पाकिस्तानलाई उदाहरणस्वरूप लिन सकिन्छ । जस्तो रूपमा कुराकानी अघि बढिरहेको थियो, त्यसानुसार एक हप्तामै भारत र पाकिस्तानबीच परमाणु युद्ध सुरु हुन सक्थ्यो । त्यो स्थितिलाई धेरै खराब दिशामा अघि बढ्दै गरेको मैले देखेँ ।”

उनले अगाडि भने, “हामीले व्यापारको माध्यमबाट त्यसलाई समाधान गर्‍यौँ । मैले भनेँ– जबसम्म तपाईंहरूले यो समाधान गर्नु हुन्न, तबसम्म हामी तपाईंहरूसँग व्यापारबारे कुरा गर्दैनौँ । अनि, उनीहरूले त्यसै गरे...।”

ट्रम्पले यस्तो दाबी पहिलोपटक गरेका होइनन् । यसअघि पनि उनले थुप्रै अवसरमा भारत–पाकिस्तान द्वन्द्व रोक्न आफ्नो भूमिका रहेको बताइसकेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि गएको साता भनेका थिए, “म यहाँ एउटा सूची हेरिरहेको छु... घरेलुस्तरमा प्राप्त यी सबै उपलब्धिहरूको सूचीमा... हामीले ट्रम्पको नेतृत्वमा भारत र पाकिस्तानबीचको युद्ध रोकेर समाधान गराएका थियौँ ।”

भारतले भने युद्धविराममा तेस्रो पक्षको भूमिका रहेको दाबीलाई खारेज गर्दै आएको छ ।

कश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि भारतले ‘अपरेसन सिन्दूर’ नामक सैन्य कारबाही सुरु गरेको थियो । पाकिस्तानले पनि जवाफी कारबाही गरेको थियो ।

भारतको हमलापछि पाकिस्तानले भारतीय सहरहरूमा ड्रोन र मिसाइलबाट आक्रमण प्रयास गरेको थियो । तर, भारतीय वायुरक्षा प्रणालीका अगाडि ती सबै प्रयास असफल भएका थिए ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्