site stats
बाह्रखरी :: Baahrakhari
खेल
राखेपलाई चीनको ८५ लाखबराबरको सामग्री सहयोग

काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग स्वरुप मंगलबार हस्तान्तरण गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँबराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताए ।

सदस्य–सचिव घिसिङले २०औँ एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले यो समय पेचिलो भएको बताउँदै दृढ संकल्पकासाथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने बताउँदै त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताए ।

डेपुटी चिफ दि मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकास थोरै भए पनि टेवा पुग्ने बताउँदै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरे ।

युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २३:३४
प्रतिक्रिया दिनुहोस्