
काठमाडौं । विश्वभरका शीर्ष कूटनीतिज्ञ, रक्षा विश्लेषक र सामरिक संस्थाको ध्यान रुस, उत्तर कोरिया र चीनको त्रिदेशीय गठबन्धनमा केन्द्रित छ । यो गठजोडलाई यस्तो रणनीतिक ध्रुवका रूपमा हेरिएको छ, जसले अन्तराष्ट्रिय शक्ति सन्तुलनलाई नयाँ ढंगले परिभाषित गर्न सक्छ ।
रुस–युक्रेन युद्ध, एसिया–प्रशान्त क्षेत्रमा सैन्य दबाब र पश्चिमा प्रतिबन्धको पृष्ठभूमिमा यो त्रिकोण केवल सैन्य लेनदेनमा मात्र सीमित नभई भू–राजनीतिक ध्रुवीकरणको निर्णायक ध्रुव (पोल) बन्दै छ ।
विशेषज्ञका अनुसार, यो त्रिकोणीय गठबन्धनले अन्तर्राष्ट्रिय भू–राजनीतिक सन्तुलनलाई नयाँ दिशा दिने क्षमता राख्छ । रुस यसको सैन्य केन्द्र हो । युक्रेन युद्धमा संलग्नता र पश्चिमा प्रतिबन्धको सामना गरिरहे पनि रुससँग हतियार र ऊर्जा स्रोतको विशाल सम्पत्ति छ ।
उत्तर कोरिया, अन्तर्राष्ट्रिय एक्ल्याई (आइसोलेसन) र कठोर प्रतिबन्धका बाबजुद गोलाबारुद र परम्परागत हतियार निर्माणमा अत्यन्त कुशल छ ।
यता, विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्राविधिक प्रभुत्व र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा बलियो पकड भएको चीन यो समूहको आर्थिक आधार हो । चीनले सतर्क र सन्तुलित सार्वजनिक भूमिका निर्वाह गरिरहेको छ । तर, पर्दापछाडिको चीनको समर्थनले यो गठबन्धनलाई रणनीतिक गहिराइ प्रदान गरिरहेको छ ।
भारतका निम्ति रणनीतिक संकेत
भारत र रुसबीच सौहार्द सम्बन्ध दशकौँ पुरानो हो । तर, चीन र उत्तर कोरियासँग रुसको निकटताले भारतलाई प्रभावित गर्न सक्ने फ्रान्सका राष्ट्रिय सुरक्षा सल्लाहकार इम्मानुएल बोने र युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।
युक्रेन युद्धका कारण रुसी रक्षा आपूर्ति प्रभावित भइरहेको छ । त्यसले भारतको रक्षा तयारीमा असर पार्नेछ । भारतले अब अमेरिका, युरोप र अरू सहयोगीबीच सन्तुलन कायम गर्ने नीति अपनाउनुपर्ने बताइन्छ ।
चीनको मौनतामा लुकेको रणनीति
चीनले हालसम्म खुला सैन्य समर्थनको घोषणा गरेको छैन । तर, उसको आपूर्ति शृंखला, आर्थिक लगानी र कूटनीतिक सुरक्षाकवचले रुसको युद्ध क्षमतालाई बलियो बनाइरहेको छ ।
जर्मन मार्सल फण्डका एसिया विशेषज्ञ बोनी ग्लेसर चीन औपचारिक रूपमा रुसको युद्ध सहयोगी नभएको बताउँछन् । तर, उसको आपूर्ति शृंखला र कूटनीतिक कवचले रुसको लडाइँलाई वैधता र स्रोत दुवै प्रदान गरिरहेको छ । यो अमेरिका र उसका सहयोगीका निम्ति स्पष्ट रणनीतिक टाउको दुखाइ हो ।
यो त्रिकोणीय गठबन्धन अब नयाँ विश्वव्यवस्थामा शक्तिको पुनर्वितरणको दीर्घकालीन परियोजना बन्दै छ ।
भारतसहित अन्तर्राष्ट्रिय दक्षिणका देशका निम्ति बहुपक्षीय कूटनीतिलाई सक्रिय बनाउने र सामरिक दृष्टिकोणलाई पुनर्परिभाषित गर्ने यो उपयुक्त समय हो ।
पश्चिमी देशका निम्ति नयाँ चुनौती
अन्तर्राष्ट्रिय मिडिया र कूटनीतिक सुरक्षा विशेषज्ञका अनुसार, रुस, उत्तर कोरिया र चीनबीच तीव्र रूपमा बढ्दो सहयोग अब केवल द्विपक्षीय सम्झौतामा सीमित छैन । बरु, यसले एक अघोषित धुरी (पोल)को रूप लिँदै छ ।
यद्यपि, यी तीन देशले हालसम्म कुनै औपचारिक सैन्य सन्धिको घोषणा गरेका छैनन् । तर, युद्ध सामग्री आपूर्ति, प्राविधिक सहयोग र साझा अन्तर्राष्ट्रिय वक्तव्यमार्फत यो त्रिकोण ठोस सामरिक उद्देश्य हासिल गर्ने दिशामा अघि बढिरहेको छ ।
यो धुरी (पोल)को सबैभन्दा गम्भीर प्रभाव पश्चिमा प्रतिबन्ध नीतिमा पर्न सक्छ । यो उनीहरूका निम्ति नयाँ चुनौती हो । एफपीआरआईबाट ।