
काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले राम्रा कामहरू पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको उल्लेख गरे । सरकारले गरेका गुण र दोषहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलले लिनुपर्ने उल्लेख गरे । सरकारले जनताको हितमा कामहरू गर्दै जानुपर्ने बताए । शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको पनि उल्लेख गरे ।
"अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । शिक्षा मन्त्रालय एमालेकै साथीहरूले सम्हाल्नुभएको छ । यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ । हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत । केही गर्न सकेका छैनौँ । गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन," उनले भने ।
सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरू रहेको बताए ।