site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले गरे भारत र अमेरिकाबीच व्यापार सम्झौता चाँडै हुनसक्ने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखिको बहुप्रतिक्षित व्यापार सम्झौता चाँडै सम्पन्न हुनसक्ने संकेत गरेका छन् ।

ट्रम्पले प्रस्तावित सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरूलाई भारतीय बजारमा थप पहुँच प्राप्त हुने तथा उक्त अमेरिका र इन्डोनेसियाबीच भएको व्यापार सम्झौतासँग मिल्दोजुल्दो हुने बताएको एनडीटीभीले जनाएको छ ।

दुई देशबीचको ट्यारिफ २० प्रतिशतभन्दा कम राख्न सकियोस् भन्दै भारत र अमेरिकाबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ ।  

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले इन्डोनेसियासँग एउटा सम्झौता गरेका छौँ । हामीलाई इन्डोनेसियाको बजारमा पूर्ण पहुँच प्राप्त भएको छ ।”

उनको प्रशासनले केही अन्य व्यापार सम्झौताहरूको घोषणा गर्न गइरहेको बताउँदै यस सन्दर्भमा भारतको पनि उल्लेख गरेका हुन् । यो सम्झौताअन्तर्गत अमेरिकालाई इन्डोनेसियाको बजारमा पूर्ण पहुँच प्राप्त हुनेछ भने इन्डोनेसियाबाट आउने उत्पादनहरूमा अमेरिकामा १९ प्रतिशत ट्यारिफ लाग्नेछ । 

यसबाहेक, इन्डोनेसियाले अमेरिकाबाट १५ अर्ब डलरको ऊर्जा, ४.५ अर्ब डलरको कृषि उत्पादन र ५० बोइङ विमान खरिद गर्ने प्रतिबद्धता जनाएको छ ।

ट्रम्पले यो सम्झौताअन्तर्गत इन्डोनेसियाले अमेरिकालाई पहिले कहिल्यै नभएको पहुँच दिइरहेको बताए । उनले भने, “सायद यो सम्झौताको सबैभन्दा ठूलो हिस्सा हो । भारत पनि त्यही दिशामा काम गरिरहेको छ । हामीलाई भारतको बजारमा पहुँच प्राप्त हुनेछ ।”

अमेरिकाले पहिले नै धेरै देशहरूलाई अगस्त १ देखि लागु हुने पारस्परिक ट्यारिफ दरको विवरणसहित पत्र पठाइसकेको छ । तर, भारतलाई पठाएको छैन । 

भारतलाई अमेरिकासँग सम्झौता गरेर जवाफी ट्यारिफबाट बच्ने आश गरेको बताइएको छ  । तर,  भारतीय वाणिज्यमन्त्री पीयूष गोयलले भारतले समयसीमाको आधारमा कुनै पनि सम्झौता नगर्ने यस अघि बताएका थिए । उनका अनुसार, पूर्ण रूपमा देशको हितमा भएमात्र भारतले अमेरिकासँग प्रस्तावित सम्झौता स्वीकार गर्ने बताए ।

भारतीय वाणिज्य मन्त्रालयको एक टोली प्रस्तावित व्यापार सम्झौतामा छलफल गर्न हाल वासिङ्टनमा छ । भारतले कृषि र डेरी उत्पादनहरूमा छुटको विषयमा कडा अडान लिएको छ । हालसम्म भारतले कुनै पनि देशका लागि आफ्नो डेरी क्षेत्र खोलेको छैन ।

यसबाहेक, भारतले २६ प्रतिशत अतिरिक्त ट्यारिफ  हटाउन माग गरिरहेको छ । साथै, उसले इस्पात र एल्यूमिनियम (५० प्रतिशत) र अटोमोबाइल (२५ प्रतिशत) क्षेत्रमा लाग्ने ट्यारिफमा पनि छुट चाहेको छ । 

राष्ट्रपति ट्रम्पले अप्रिल २ मा भारतसहित धेरै देशहरूमा भारी ट्यारिफ लगाउने घोषणा गरेका थिए, तर पछि यसलाई ९० दिनका लागि स्थगित गरिएको थियो, जुन अब ९ जुलाईबाट बढाएर अगस्त १ सम्म पुर्‍याइएको छ ।  

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्