काठमाडौं । थाइल्यान्डको प्रहरीले एक महिलालाई बौद्ध भिक्षुहरूसँग यौन सम्बन्ध बनाउँदै भिडियो र तस्बिर खिचेर पैसा असुल्ने गरेको आरोपमा पक्राउ गरेको छ ।
‘मिस गल्फ’ नामकी ती महिलाले कम्तीमा नौजना बौद्ध भिक्षुहरूसँग यौन सम्बन्ध राखेर भिडियो र तस्बिर खिच्दै पैसा असुलेको प्रहरीले बताएको छ ।
ती महिलाले तीन वर्षमा करिब ११.९ मिलियन डलर रकम प्राप्त गरेकी प्रहरी प्रवक्ताले बताएका छन् ।
अनुसन्धानकर्ताहरूले महिलाको घरमा खानतलासी गर्दा भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गरिएका ८० हजारभन्दा बढी तस्बिर र भिडियो फेला पारेको बताइएको छ ।
विगत केही वर्षमा भिक्षुहरूमाथि यौन अपराध र लागुपदार्थ तस्करीमा संलग्न भएको आरोप लाग्दै आएको बेला यो नयाँ प्रकरणले थाइल्यान्डमा पवित्र मानिने बौद्ध संस्थालाई हल्लाएको बीबीसीले उल्लेख गरेको छ ।
बैंककको एक मठाधीशले एक महिलाबाट ब्ल्याकमेल भएपछि अचानक भिक्षु जीवन त्यागेको घटनापछि यो विषय पहिलोपटक मध्य जुनमा प्रहरीले पत्ता लगाएको थियो ।
प्रहरीका अनुसार ‘मिस गल्फ’ले मे २०२४ मा ती भिक्षुसँग सम्बन्ध बनाएकी थिइन् । पछि उनले आफू ती भिक्षुको बच्चाकी आमा भएको दाबी गर्दै र सात मिलियन भाटभन्दा बढी भरणपोषण रकम माग गरेकी थिइन् । त्यसपछि प्रशासनले अन्य भिक्षुहरूले पनि ‘मिस गल्फ’लाई त्यस्तै तरिकाले पैसा तिरेको पत्ता लगाएको थियो । बीबीसी