नेपाली कांग्रेसमा रुपान्तरणको आवश्यकता, महत्व र अनिवार्यताको बहस तीव्र हुँदैछ । पार्टी रुपान्तरणका लागि अनेकथरि विचार, मत/अभिमत, तरिका र विधिहरू प्रस्तावमा छन् । पार्टीमा समसामयिक सुधार वा आमूल परिवर्तन ? भन्ने प्रश्न सशक्त र प्रखर रुपमा उठेको छ । यही आलोकमा यस आलेखमा कांग्रेस रुपान्तरणका सूत्रहरूबारे केलाउने प्रयास गरिएको छ ।
वैचारिक प्रष्टता
नेपाली कांग्रेसमा वैचारिक बहस कमजोर हुँदै गएको सबैको बुझाइ छ । पार्टीको केन्द्रदेखि भुइँ तहसम्म पनि यो कुरा बेला–बेलामा टड्कारो उठ्ने गर्छ । के यो कुरा सही हो ? के कांग्रेस वैचारिक रुपमा अन्यौलमा छ त ? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिएको छ ।
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो आदर्श मान्दै आएको छ । यसमा कुनै विरोधाभाष वा अलमल छैन । तर रणनीतिक रुपमा शुरुमा अंगीकार गरिएको संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीमा भने बदलाव आएको छ । पार्टी स्थापनाको ६ दशकपछि २०६४ को महासमिति बैठकले संवैधानिक राजतन्त्रको बाटो लोकतन्त्र, नागरिक अधिकार र नेपाली जनताको भावना अनुकूल हुन नसक्ने ठहर गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीमा जाने निर्णय गरेको विदितै छ ।
यो निर्णयपछि मुलुकमा १० वर्ष लामो माओवादी हिंसाको शान्तिपूर्ण समाधान हेतु बृहत शान्ति सम्झौता भयो । दुई दुई पटक संविधानसभाको निर्वाचन भयो । दोस्रो संविधानसभाले आफ्नो कार्यकालको २० औं महिनामा नेपालको संविधान जारी गर्यो । जुन नेपालको राजनीतिक इतिहासको सर्वाधिक महत्वपूर्ण उपलब्धि हो ।
संविधान कार्यान्वयनपछि मुलुक संघीयतामा गयो । तीन तहका सरकारहरू संचालनमा आए । स्थानीय तह, प्रदेश र संघीय संसदका दुई दुई पटक निर्वाचनहरू भए । मुलुकले नयाँ मार्गमा यात्राको लामो दूरी पार गरिसक्यो । नयाँ संविधानसँग धेरै विषय नयाँ आए । यिनीहरू नेपाली जनक्रान्ति, पटक पटकका संघर्ष र जनआन्दोलनका उपलब्धि हुन् ।
यी सबै आन्दोलन २००७, २०४६ र २०६२/६३ सफल नेतृत्व पनि कांग्रेसले गरेको हो । यतिमात्र हैन नयाँ संविधानको नेतृत्व पनि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गर्नुभएको थियो । यी सबै विषय सधैंका लागि घाम जस्तै छर्लङ्ग छन् । तर पनि कांग्रेसमा केही ‘कन्फ्युजन’ छन् । त्यो पनि नेतृत्व तहमा नै ।
कांग्रेस आफ्नो दस्तावेजमा प्रस्ट देखिन्छ, राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता, समानुपातिक निर्वाचन प्रणाली आदि उपलब्धिहरूमा । तर दस्तावेज निर्माण गर्ने पंक्तिमा भने अन्यौल र दुविधा व्याप्त छ ।
कसैले गणतन्त्र आएको मन पराएका छैनन् । संवैधानिक राजतन्त्रको मार्ग नै कांग्रेस बुझ्दैछन् । संघीयताको फल खाने तर त्यसको जस लिन नखोज्ने जमात पनि छ । समाजको विपन्न, अल्पसंख्यक, पछाडि पारिएको वर्ग र क्षेत्रको समावेशी प्रतिनिधित्वले आफ्नो भाग खोसेको ठान्ने तप्का पनि छ । सनातनदेखि चलिआएको धर्मको संरक्षण, संवद्र्बन गर्नु र आफ्नो आस्थाअनुसार धर्मको पालन गर्ने, धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता हाम्रो एजेण्डा होइन भन्ने मत पनि नेतृत्व तहमा नै छ ।
नयाँ व्यवस्थामा पुरानो सोचले कांग्रेसको नेतृत्व पंक्ति ग्रसित देखिन्छ । यो नेपालको राजनीतिमा त हुँदै हो । योभन्दा बढ्ता नेपाली कागे्रेसभित्र हो । यसैमा हो, वैचारिक प्रस्टता चाहिएको । आन्दोलन र यसबाट भएको परिवर्तनका उपलब्धिका विषयमा कांग्रेसको नेतृत्व पंक्तिमा नै अस्पष्टता र विरोधाभाष देखिन्छ । यसबाट पार्टीको समग्र पंक्तिमा कस्तो अन्यौलता सिर्जना हुन्छ अन्दाज गर्न सहजै सकिन्छ ।
जब राजतन्त्रको कुरा उठ्छ, कोही पुनर्विचार गर्नुपर्ने विचार राखिहाल्छ । संघीयताले पहुँचमा, पहिचानमा र प्रतिनिधित्वमा पुर्याएको योगदानको अवमूल्यन गर्दै बोझिलो र खर्चालु भयो भन्ने मत राख्छ । यो त हाम्रो एजेण्डा थिएन भन्ने मत प्रकट भइहाल्छ ।
नेपालमा ८० प्रतिशत बढी हिन्दू बाहुल्यता छ, हिन्दू राष्ट्र हुनुपर्छ, कसैले भन्यो भने हो भन्ने विचार पनि कांग्रेस नेताकै हुन्छ । हिजो आन्दोलनमा नारा नलागेको विषयपछि थपियो यसमा जनमत संग्रह चाहियो, कसैले भन्यो भने यसमा जानुपर्छ भन्ने पंक्तिमा पनि कांग्रेस नेताकै नाम दर्ज भएको हुन्छ ।
समानुपातिक निर्वाचन प्रणालीले गर्दा स्थिर सरकार दिन समस्या भयो । समावेशिताका नाममा पुरानो पहिचान समाप्त भयो भनेर कसैले भन्यो भने यसको पुनरावलोकन गरिनुपर्छ भन्ने पनि कांग्रेस नेताकै नाम हुन्छ । यो के हो ? कांग्रेसमा बढ्ता प्रगतिशीलताको भोग जागेको हो वा वैचारिक अस्पष्टता ।
अवस्था कतिसम्म दयनीय छ भने एउटै कार्यक्रमको मञ्चमा कांग्रेसको नेताले बोल्ने विषय यस्तो हुने गर्छ । वीपी कोइरालाले पहिलो पटक संविधानसभाको निर्वाचन माग गर्नुभएको थियो । लोकतन्त्र र यसका मूल्य पद्धतिको सच्चा पहरेदार कांग्रेस हो, अर्थात् कांग्रेस भन्नु नै लोकतन्त्र र लोकतन्त्र भन्नु नै कांग्रेस हो ।
नेपालका सबै आन्दोलन, संघर्ष र क्रान्तिको नेतृत्व कांग्रेसले गर्यो । देशलाई माओवादी हिंसाबाट मुक्त गर्ने र शान्ति स्थापना गर्ने कामको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुभयो । संविधानसभामार्फत नेपालको संविधान निर्माण गर्ने कामको नेतृत्व पनि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गर्नुभयो ।
जननायक वीपी कोइराला, लौहपुरुष सर्वमान्य नेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, क्रान्तिनायक गिरिजाप्रसाद कोइराला, संविधानका पिता सुशील कोइराला र संविधानको कार्यन्वयनकर्ता वर्तमान सभापति शेरबहादुर देउवाको योगदानको चर्चा गरेर उहँहरूको योगदानबाट प्राप्त उपलब्धिमा भने गर्व गर्नुको साटो कुण्ठा ओकल्ने नियमितता देखिन्छ ।
यसैले गर्दा हो, कांग्रेसले पछिल्लो परिवर्तनको जस लिन सकेको छैन । यसैकारण हो, आमनागरिक तहमा कांग्रेस नवीनता र परिवर्तनको पक्षमा छैन भन्ने सन्देश प्रतिपक्षीहरूले सम्प्रेषण गरिरहेकै छन् । त्यसैले आजका दिनमा कांग्रेस रुपान्तरणका लागि वैचारिक प्रष्टता पहिलो अनिवार्य सर्त हो । को नेता हुने भन्दा पनि कसले वैचारिक प्रष्टताको नेतृत्व गर्ने भन्ने मुख्य सवाल हो । वैचारिक प्रष्टतामार्फत कांग्रेस पुनर्जागरण र रुपान्तरणको मार्ग तय गर्नु आजको कार्यभार बन्नुपर्छ ।
संरचनात्मक परिवर्तन
कांग्रेसका संरचना कस्तो बनाइएका छन, यसमा संलग्न सबै सदस्यहरू स्वयं जानकार छन् । संरचनाका हिसाबले हालका संरचना भीमकाय नै छ । तर परिणाम र प्रभाव कस्तो छ ? पार्टीमा आकर्षण कस्तो बन्दैछ ? यसको पुनरावलोकन वाञ्छनीय छ नै । संरचनात्मक परिवर्तन पनि अनिवार्य सर्त बनेको छ । पार्टीमा मौजुदा आठ तहको संगठन संरचना जरुरी हो कि हैन ? यसले पुनरावलोकन माग गर्छ ।
तहगत संरचनामा किटान गरिएको संख्या कति वैज्ञानिक र व्यवहारिक छ ? अर्को अनिवार्य समीक्षाको विषय छ । एकपटक पदमा पुगेपछि आजीवन पदेन हुने पद्धति कति लोकतान्त्रिक र राजनीतिक नैतिकताले उचित हो । यी विषयको निरुपण संरचनात्मक परिवर्तनले मात्र संम्बोधन हुन सक्छ ।
नेपाली कांग्रेसको विधान, २०१७ (नवौं संशोधन) र परिमार्जनसहित प्रचलनमा छ । यो तत्कालीन परिवेश, एकल र केन्द्रीकृत राज्य संरचना र तत्कालीन राजनीतिक सामाजिक चेतनाको आधारमा तर्जुमा भएको हो । यसलाई पटक–पटक संशोधन गरेर समयसापेक्ष बनाउने प्रयास भइरहेको छ ।
पार्टी संगठनको महत्वपूर्ण पक्ष आदर्श, वैचारिक रुझान र सिद्धान्तपछि त्यसलाई बोक्ने संगठन संरचनालाई मानिन्छ । संगठनको मापन पनि उसका सदस्यहरू र संरचनाका आधारमा गरिन्छ । यसका लागि पार्टी संरचनालाई आधुनिक, समयसापेक्ष, व्यवहारिक र वैज्ञानिक ढंगबाट निर्माण गरिनु जरुरी हुन्छ । पार्टी संगठन पुनर्संरचनाका लागि विधानमा सामयिक परिवर्तन अनिवार्य छ । यसका माध्यमबाट पार्टीलाई नवजीवन दिनेगरी हालको राज्य संरचना, शासकीय स्वरुप, प्रतिस्पर्धी राजनीतिक शक्ति र सामाजिक चेतनाका आधारमा संरचनात्मक परिवर्तन जरुरी हुन्छ ।
पार्टी संरचनासँगै योसँग अभिन्न रहेका यसका भातृ संस्थाहरूको विषयमा पनि बहस र विश्लेषण वाञ्छनीय देखिन्छ । राणा शासनको समाप्तिका खातिर स्थापना भएका संस्थादेखि परिवर्तनलाई संस्थागत गर्न बनाइएका संस्थाहरू र हिजो पञ्चायतको कठिन समयमा व्यवस्था परिवर्तनको अवधारणा र अभिमुखीकरणमा हुर्केका संस्थादेखि गणतन्त्रको स्थापनापश्चात खुलेका जातीय संस्थाहरूको आजको सन्दर्भमा आवश्यकता, औचित्य, महत्व र प्रकृतिका विषयमा आजसम्म कुनै बहस भएको पाइँदैन ।
कुन संस्था किन जरुरी हो ? त्यसको क्षेत्राधिकार के हुने हो ? त्यसको सांगठानिक गतिशीलता कसरी हुन्छ ? यसमा न पार्टीको केन्द्रीय समिति, न महासमिति/महाधिवेशनमा बहस, न त कोही नेताले नै विचार राखेको पाइन्छ ।
कसैको लहडकै भरमा कसैलाई पद दिनकै लागि ती संस्थाहरूको गठन गरेको प्रतीत हुन्छ । पार्टीको संरचनात्मक परिवर्तन केवल एउटा तह वा एउटा समितिमा गरेर हुदैन । यसले त समग्रमा बहसको, विमर्शको, संवादको र विश्लेषणको माग गर्छ । त्यसैले पार्टीको संरचना कस्तो बनाउने ? कति तहको संरचनाको खाँचो छ ? कतिवटा भातृ संस्था बनाउने ? त्यसको कार्यभार र क्षेत्राधिकार के हुने ? भन्ने विषय आजको अनिवार्य आवश्यकता बनेको छ ।
गतिशिल नेतृत्व
एउटा सक्षम र सबल पार्टी बन्न राजीतिक विचार, त्यसलाई विधिसम्मत चलाउने विधान, त्यो विचार बोक्ने संगठन र त्यसलाई नेतृत्व गर्ने गतिशील नेतृत्व अनिवार्य तत्वहरू हुन् । माथि नै भनियो, कांग्रेस रुपान्तरणको सूत्र वैचारिक प्रष्टता र संरचनात्मक परिवर्तन हो । के यो कागजमा लेख्दैमा पुरा हुन्छ ? हुदैन । यो त केवल शरीरको बनौट हो । भौतिक अवस्थिति मात्र हो । यसको संचालनका लागि, निरन्तर रक्त संचारका लागि, यसमा प्राण भर्न सक्षम र गतिशील नेतृत्व अर्को अनिवार्य तत्व हो । नेतृत्वविनाको विचार, विधान र संरचना देखाउनका लागि मात्र हुन्छ । कामयावी हुँदैन, जीवन्त हुँदैन । यसमा पनि खरो बहस जरुरी छ ।
गतिशील नेतृत्वको मानक के हो ? यसमा सबैको आ आफ्नो बुझाई अवश्य हुन्छ । परम्पराको कसीमा नेतृत्वमा पुग्ने दलीलको पक्षपाती पनि होलान् । पितापुर्खाको लिगेसीमा दाबी गर्नेहरू पनि होलान् । कर्मचारीतन्त्रमा जस्तो फाइल बढुवाको वकालत गर्नेको पनि कमी नहोला । लामो समयको योगदानले नेतृत्वको आकांक्षा विजारोपण गरेको पनि हुन सक्ला ।
एउटा पुरानो पार्टीमा उमेर समूहलाई आधार मान्ने प्रवृत्ति पनि देखिएला । संगतका आधारमा, पहुँचका आधारमा, अझ गुटगत हिसाबले पक्षधरता पनि हुन सक्ला । के यिनै आधारले तय हुने नेतृत्वको मानकले युगले खोजेको गतिशीलता भेटिन्छ ? समय चेतनाको सम्बोधन गर्न सक्छ ? प्रश्न विचारणीय छ ।
अहिले समय चेतना कस्तो छ ? नेपाली समाज कता जादैछ ? बडो विचित्रको अवस्था देखिँदैछ । झण्डै दुई दशकअघि नेपाली जनताको आन्दोलनले सेलाएको राजतन्त्रको खोजी गर्ने एउटा झुण्डले म्याउँ गर्दैछ । यो कस्तो चेतना हो ? यसको विश्लेषण आफ्नो ठाउँमा छ ।
तर गणतन्त्र स्थापनापछि हुर्केको पुस्ताले न त हिजोको राणाविरोधी क्रान्ति बुझेको छ, न त त्यो पञ्चायतको राजतन्त्रकालीन अवस्था नै । न पछिल्लो जनआन्दोलन देख्यो र न भोग्यो । उसले पनि नेपालमा केही नभएको महसुस गर्दैछ । यही बुझाईले हो, युवा पुस्ता विदेश जान हतारिएको । सामाजिक संजालको आधारमा विचार र धारणा बनाउँदै हिँडेको छ, नयाँ पुस्ता । के हाम्रो राजनीतिले यसलाई सम्बोधन गर्ने जाँगर देखाएको छ ?
नेपाली कांग्रेसले नेपाली समाजको चेतना र यसले निर्माण गरेको भाष्यलाई कसरी बुझ्दैछ ? यो नकारात्मक भाष्यलाई देश र नागरिकको विश्वास र भरोसामा रुपान्तरण गर्न सक्ने र पार्टीको साख बढाउन सक्ने उपाय कसरी र कसले खोज्न सक्छ ? बहस यता गरिनु अपरिहार्य छ ।
आजका दिनमा हाम्रो राजनीतिको मुख्य ध्येय के हो र हुनुपर्छ ? हिजोको इतिहासको कुराले मात्र हाम्रो भविष्यको मार्ग तय गर्न सक्दैन । आज सूचना प्रविधिमा भएको क्रान्ति र यसबाट उत्पन्न युग चेतनाको आलोकमा पार्टीलाई र देशलाई नेतृत्व गर्नुछ । हाम्रा अघिल्तिरका प्रतिस्पर्धी को को हुन् ? पहिचान गर्नुछ ।
देशमा आर्थिक विकास, रोजगारी र सुशासनको नेतृत्व गर्ने कुराको नागरिक तहमा विश्वास र भरोशा दिलाउनुछ । समय चेनताको हाँक बुझ्ने, प्रतिस्पर्धीको पहिचान गरी सो अनुरुपको योजना बनाउने, जनतामा नवीन आशा र भरोशाको विश्वास दिलाउने, आत्मबल र साहस भएको, विचार र दृष्टिकोण भएको गतिशिल नेतृत्व अबको आवश्यकता हो । हाम्रो बहस यसैमा केन्द्रित गर्नु अनिवार्य छ ।
(लेखक नेपाली कांग्रेसका महासमिति सदस्य हुन्)