
काठमाडौं । नवप्रवेशी शीर्ष डिभिजन लिग क्लब प्लानिङ ब्वाइज युनाइटेड एन्फा यू–१६ युथ लिगमा पराजित भएको छ । प्लानिङ बिहीबार लिगअन्तर्गत संकटा क्लबसँगको खेलमा ४–१ ले पराजित भएको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा संकटालाई जित दिलाउन टोलीका प्रज्वलकुमार लुम्रेले ह्याट्रिक प्रहार गर्दा कुलदेव तितुङले एक गोल गरे । संकटाले चार गोल पहिलो हाफमा गरेको थियो । प्लानिङका रविन लुंगेली मगरले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।
खेलको १०औँ मिनेटमा कुलदेवले संकटालाई अग्रता लिए । प्रज्वलले ह्याट्रिक गर्दै टोलीलाई ४–० को अग्रतामा राखे । उनले ३३औँ, ४०औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
८४औँ मिनेटमा प्लानिङका रविन लुंगेली मगरले टोलीको निम्ति एक गोल फर्काए । तर, उनको यो गोल टोलीलाई खेलमा फर्कन पर्याप्त थिएन ।
जितसँगै संकटाले लिगमा १२ अंक बनाएको छ । अब पाँचौँ जितको निम्ति छैटौँ खेलमा संकटाले आगामी आइतबार (साउन ४ गते) मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ । खेल दिउँसो १ बजे हुने तालिका छ ।
पराजित प्लानिङ ब्वाइजले भने छैटौँ खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । खेल आइतबार (साउन ४ गते) दिउँसो ४ बजे हुने तालिका छ ।