
बुटवल । लुम्बिनी प्रदेशका जिल्लाहरूमा महिला हिंसाका घटना बढिरहँदा नाबालिका तथा वृद्धा महिलामाथि हुने गरेका घटनाहरू पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।
समाजका सबैभन्दा संवेदनशील समूहमा पर्ने नाबालिका र वृद्धा महिलामाथि हुने हिंसाका घटना लुम्बिनी प्रदेशमा बर्सेनि बढ्दै गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तीन वर्षको तथ्यांकले देखाएको हो ।
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार, आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको अवधिमा १८ वर्षमुनिका बालिका र ६० वर्षभन्दा माथिका वृद्धा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि देखिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बाह्रखरीसँगको कुराकानीमा पछिल्लो तीन वर्षमा महिला हिंसाका घटना बढिरहेको जानकारी दिए ।
उनले आर्थिक वर्ष २०८१/०८२ मा १८ वर्षमुनिका पीडित बालिका १८ जना रहेको बताउँदै ६० वर्षमाथिका पीडित महिलाको संख्या ११९ रहेको जानकारी दिए ।
उनका अनुसार, आर्थिक वर्ष २०७९/०८० मा १८ वर्षमुनिका पीडित बालिकाहरूको संख्या २९ रहेका छन् भने ६० वर्षमाथिका पीडित ९२ जना रहेका छन् ।
यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १८ वर्षमुनिका पीडित बालिका १६ जना छन् भने ६० वर्षमाथिका पीडित महिलाको संख्या ९९ रहेको थियो ।
मधेसी समुदायमा सबैभन्दा धेरै हिंसा
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार, आर्थिक वर्ष २०८१/०८२ को घरेलु हिंसाको तथ्यांक हेर्दा सबैभन्दा धेरै मधेसी समुदायका महिलाहरू बढी पीडित देखिन्छन् ।
लुम्बिनी प्रदेशका जिल्लाहरूमा भएको घरेलु हिंसाको घटनामा मधेसी समुदायका एक हजार ९९ वटा महिला हिंसाका घटना भएका छन् ।
यस्तै, जनजाति समुदायका ४६२ महिलामाथि हिंसाका घटना भएको कार्यालयले जनाएको छ । मुस्लिम समुदायका महिलामाथि ४३५, ब्राह्मण/क्षेत्री समुदायका ४१४ तथा दलित समुदायका महिलाहरूमाथि ३४९ महिला हिंसाका घटना भएको कार्यालयले जनाएको छ ।
यसो भन्छन् अधिकारकर्मी
महिला मानवअधिकारकर्मी इन्दीरा आचार्यले महिला हिंसा नरोकिनु दुखद् भएको बताउँछिन् । उनले बाह्रखरीसँगको कुराकानीमा नाबालिका र वृद्धा दुवै समूह शारीरिक, मानसिक र सामाजिक रूपमा कमजोर अवस्थामा रहने बताउँदै सम्मान र संरक्षण हुनुपर्ने व्यक्तिहरूमाथि हिंसा हुनु दुखद् भएको उल्लेख गरिन् । हिंसाको रोकथामका लागि समाजको सक्रियता, सुरक्षा निकायको प्रभावकारितामा संवेदनशिलता आवश्यक रहेको उनको भनाइ छ ।
उनले भनिन्, “यो अवस्था निकै गम्भीर छ । समाजका सबैभन्दा कमजोर तहमा पर्ने बालिका र वृद्धा महिलामाथि हुने हिंसालाई रोक्न राज्य र समाज दुवैले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ ।”