site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मानवअधिकार समूहले भन्यो– दक्षिणी सिरियाको हिंसामा ५९४ मारिए

काठमाडौं । सांप्रदायिक आयाम लिएको दक्षिणी सिरियामा हालै भएको हिंसामा ५९४ जना मारिएको ब्रिटेनको एउटा निगरानी समूहले बताएको छ ।

ब्रिटेनमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले आइतबारदेखि सुवेयदा प्रान्तमा फैलिएको हिंसाको अवस्थालाई दस्तावेज गरेको बताएको छ ।

एसओएचआरले बिहीबार साँझ बताएअनुसार द्रुज धार्मिक अल्पसंख्यकका ३०० जना मारिएका छन् । १४६ लडाकु र १५४ सर्वसाधारण थिए । ८३ जनालाई सरकारी सेनाले मृत्युदण्ड दिएको थियो ।

कम्तीमा २५७ सरकारी कर्मचारी र १८ बेदुइन लडाकु पनि मारिएको बताइएको छ । यसबाहेक तीन बेदुइन सर्वसाधारणलाई द्रुज लडाकुहरूले मारेका थिए । 

यो लडाइँ बेदुइन र द्रुज समुदायहरूबीचको विवादपछि सुरु भएको थियो । 

थप १५ सरकारी कर्मचारीहरू इजरायली हवाई आक्रमणमा मारिएको बताइएको छ । एसओएचआरको आँकडालाई तत्काल पुष्टि गर्न सम्भव नभएको बीबीसीले जनाएको छ ।

यद्यपि, सुरक्षा स्रोतहरूले मृतकको संख्या ३०० र अर्को निगरानी समूह, सिरियन नेटवर्क फर ह्युमन राइट्सले कम्तीमा १६९ सर्वसाधारणको मृत्यु भएको दस्तावेज गरेको बताएको छ ।

बिहीबार अधिकांश समयमा शान्ति कायम भएको बताइएको छ । सरकारी सेना द्रुज–बहुल सहर सुवेदाबाट फिर्ता भएको छ । 

बासिन्दाहरूले क्षति र लुटपाटका दृश्यहरूका साथै सडकहरूमा शवहरू भेटिएको रिपोर्ट गरेका बीबीसीले जनाएको छ ।

सिरियाको इस्लामवादी नेतृत्वको सरकारका लडाकुहरूको समूह सोमबार सहरमा प्रवेश गरेको थियो, जसले द्रुज र बेदुइनबीचको झडपपछि व्यवस्था कायम गर्न खोजेको देखिन्थ्यो । तर, त्यसपछि झन् ठूला झडपहरू भएका थिए ।

सिरियाली सरकारले बुधबार युद्धविरामको घोषणा गरेको थियो । द्रुज समुदायका नेता शेख हज्रीका अनुयायीहरूले सरकारी सेनाविरुद्ध लडाइँको नेतृत्व गरेका थिए, जसले इजरायलसँग नजिकको सम्बन्ध स्थापित गर्न खोजेका छन् । 

बिहीबार, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले सिरियामा आफ्नो हितलाई बलपूर्वक लागु गर्ने नियत राखेको बताए । 

नेतन्याहूले झडपहरूमा इजरायलको हस्तक्षेप सिरियाली सेनालाई देशको दक्षिणमा तैनाथ हुनबाट रोक्न र आंशिक रूपमा द्रुजको संरक्षण गर्नका लागि गरिएको बताएका थिए । बीबीसी

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्