काठमाडौं । अमेरिकी अधिकारीले स्वीस सरकारलाई त्यहाँका निम्ति उत्पादन लाइनमा रहेका प्याट्रियट हवाई रक्षा प्रणाली युक्रेनतर्फ पठाउन लागिएको जानकारी दिएका छन् । स्वीस सरकारले जुलाई १७ मा अमेरिकाबाट प्राप्त सूचना सार्वजनिक गरेको हो ।
यो कदमले युक्रेनमाथि जारी रुसी मिसाइल तथा ड्रोन आक्रमणको निरन्तर प्रतिरोध गर्न सहयोग पुर्याउने जनाइएको छ ।
स्वीट्जरल्यान्डले सन् २०२२ मा रेथियानद्वारा निर्मित पाँच प्याट्रियट प्रणाली ‘अर्डर’ गरेको थियो । ती प्रणालीको डेलिभरी सन् २०२६ मा सुरु भएर २०२८ सम्म चल्ने तय थियो ।
स्वीट्जरल्यान्डले प्याट्रियट प्रणाली छनोट गर्नु लामो समयको हवाई रक्षा र निगरानी समीक्षाको हिस्सा भएको जनाएको छ । उसले ३६ अमेरिकी एफ–३५ लडाकु विमानको अर्डर पनि दिएको छ ।
गत वर्ष अमेरिकाले स्वीट्जरल्यान्डलाई अर्डर गरिएको पीएसी–३ एमएसई इन्टरसेप्टरको एक समूह युक्रेनमा पठाइने जनाएको थियो । ती प्याट्रियट प्रणालीसँग प्रयोग गर्न सकिने सबैभन्दा उन्नत इन्टरसेप्टर मानिन्छन् ।
यसैबीच, जर्मनीले पनि यो हप्ता अमेरिकाबाट दुई प्याट्रियट प्रणाली किनेर युक्रेनलाई दिने प्रस्ताव गरेको छ । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले जुलाई १४ मा वासिङटन भ्रमणका क्रममा एक प्याट्रियट सेटअपको लागत इन्टरसेप्टरको संख्यामा निर्भर गर्दै करिब एक अर्ब डलर पर्ने बताएका थिए ।
पिस्टोरियसले अमेरिकी रक्षामन्त्री पिट हेगसेथसँगको वार्तापछि खरिदबारे त्यहाँको प्रशासनसँग छलफल भइरहेको जानकारी दिए । लेनदेनसम्बन्धी बाँकी प्रश्न समाधान गर्न सकिने उनले बताए ।
जुलाई १७ मा जर्मनीको विसबाडेनमा आयोजित ल्यान्डयुरो सम्मेलनमा नेटोका शीर्ष कमान्डर एवं अमेरिकी वायुसेना जनरल अलेक्सस ग्रिन्केविचले युक्रेनलाई रक्षात्मक हतियार आपूर्ति गर्न नयाँ पहल भइरहेको संकेत गरे ।