site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु हेलिकोप्टर १०औँ वर्षमा, आईपीओ निष्कासनको तयारी
फाइल तस्बिर ।

काठमाडौं । स्थापनाको १०औँ वर्षमा प्रवेश गरे प्रभु हेलिकोप्टरले आईपीओ निष्कासनको तयारी गरेको छ ।  कम्पनीका अनुसार, आईपीओ जारी गर्न आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए ।

एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकोप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ मा सम्पूर्ण सेयर खरिद गरी प्रभु हेलिकोप्टरका नामबाट सञ्चालनमा ल्याएको हो ।

प्रभु हेलिकोप्टरले पर्यटन क्षेत्रसहित आकस्मिक उद्धार, सामग्री ढुवानीलगायत क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकोप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।

कम्पनीले हाल पोखरा, काठमाडौं र लाङटाङमा हेलिकोप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ । मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकोप्टर टुर उपलब्ध गराउँदै आएको छ । सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्ने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्