site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लिचीबारी प्रकरण : बिचौलिया लामालाई कारबाही, मन्त्रीलाई पदमुक्त गर्न माग

पोखरा । पोखरा महानगरपालिका–१६ स्थित १३५ रोपनी लिची बगान प्रकरणमा मुछिएका बिचौलिया सुजन लामालाई नेकपा (एमाले) कास्कीले पार्टी सदस्यबाट हटाएको छ । लामा अझै एमाले गण्डकी प्रदेश कमिटीको सल्लाहकार समिति सदस्य हुन् । उनी एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्ष समेत हुन् ।

जग्गा हडप्ने प्रकरणमा मालपोत कर्मचारीका विषयमा घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपश्चात् राजकुमार गुप्ताले मन्त्री पद गुमाएका थिए । चर्को दबाबपछि उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका थिए ।

यही प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको पनि नाम मुछिएको छ । गुप्ताले राजीनामा दिए पनि अधिकारी मन्त्री पदमा बहाल छन् ।

कास्की एमालेका नेताहरूले अधिकारीलाई समेत पदमुक्त गर्न माग गरेका छन् । शनिबार (साउन ३) पोखरामा आयोजित एमाले जिल्ला र पालिका पदाधिकारी तथा जनवर्गीय संगठनको भेलामा बोल्नै सबै नेताले मन्त्री अधिकारीलाई पदमुक्त गर्न माग गरेका हुन् ।

उता, एमाले कास्कीले लामाको सदस्यता नवीकरण गरेको छैन । “असार मसान्तसम्मको समय थियो नवीकरणको लागि,” एमाले कास्कीका सचिव दर्शन लामाले बाह्रखरीसित भने, “हामी पदाधिकारी बसेर सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेका हौँ ।”

लामाको सदस्यता पोखरा–२५ बाट थियो ।

कास्कीको भूमि आयोगको नेतृत्व आफ्ना मान्छेलाई दिलाउन लामा सक्रिय रूपमा लागेका थिए । लामाले जिल्लाबाट नै खेम पुनलाई मात्र एकल सिफारिस गर्न दबाब दिएका थिए । कास्की एमालेबाट सम्भव नभएपछि उनले आफू सदस्य रहेको प्रदेश कमिटीमार्फत पुनको नाम एकल सिफारिस गराएका थिए ।

गुप्तासँगको उक्त अडियोमा पनि प्रस्ट रूपमा प्रदेश कमिटीबाट पुनको एकल नाम सिफारिस गरिएको भन्ने सुनिन्छ । मन्त्री अधिकारीबाट पुनलाई नै नियुक्त गर्न लगाउन भनेर लामाले गुप्तासँग डिल गरेका थिए ।

गुप्ताले ‘एकल सिफारिस भएको भए समस्या के छ ?’ भनेर सोध्दा लामाले एमाले नेता ‘खगराज अधिकारी खेलिरहेको’ बताएका थिए । लामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट मानिन्छन् ।

भूमि आयोग कास्कीका अध्यक्षका निम्ति एमालेले बैनबहादुर गुरुङ, केशवप्रसाद आचार्य र शोभामोहन पौडेलको नाम सिफारिस गरेको थियो । आयोगको अध्यक्ष बैनबहादुर गुरुङ नियुक्त भइसकेका छन् । गुरुङ अधिकारीनिकट मानिन्छन् । एमाले कास्कीको प्यानल नै अधिकारीनिकट उमेदवार विजयी भएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्