
लस एन्जलस । अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएका त्यहाँको अग्नि नियन्त्रण विभागले जनाएको छ ।
पूर्वी हलिउडमा १०० भन्दा बढी उद्धारकर्मीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी अस्पतालमा पठाएका छन् । घाइतेमध्ये तीनजनाको स्वास्थ्य अवस्था निकै गम्भीर छ । ६ जनालाई गहिरो चोट लागेको छ । अरू १९ जना सामान्य घाइते भएका अग्नि विभागले जनाएको छ ।
अधिकारीहरूले यसअघि चारदेखि पाँचजनाको अवस्था गम्भीर रहेको उल्लेख गरेका थिए ।
एबीसी न्युजले विभागका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “प्रारम्भिक अनुसन्धानमा एक चालक सवारीसाधन चलाइरहेको समयमा बेहोस भएको र रात्रि क्लबबाहिर ठूलो भीडलाई ठक्कर दिएको देखिएको छ । यद्यपि, यो तत्काल पुष्टि हुन सकेको छैन ।”
यो घटना भएको क्षेत्र सूर्यास्त बुलेवार्ड र वाक अफ फेमजस्ता हलिउडस्थलहरूनजिक छ । रासस/एएफपी