site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तीन युरोपेली देश र इरान परमाणु वार्ता पुनः सुरु गर्दै

काठमाडौं । तीन युरोपेली देश र इरानबीच अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागु हुने चेतावनीपछि इस्तानबुलमा परमाणु वार्ता पुनः सुरु हुने भएको छ ।  

ई–३ (फ्रान्स, जर्मनी, बेलायत)का विदेश मन्त्री र युरोपेली संघका विदेश नीति प्रमुखले इरानी विदेश मन्त्री अब्बास अराघ्चीसँग बिहीबार पहिलोपटक फोन वार्ता गरेको जानकारी अलजजिराले दिएको छ । उनीहरूले उक्त फोन वार्तापछि शुक्रबारका लागि परमाणु वार्ता तय भएको बताएका छन् ।

 गत महिना इजरायल र संयुक्त राज्य अमेरिकाले इरानी परमाणु सुविधामाथि आक्रमण गरेपछि उक्त वार्ता रोकिएको थियो ।

चीन र रूसबाहेक यी तीन युरोपेली देशहरू सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौताका बाँकी पक्ष रहेको बताइएको छ । यस सम्झौताबाट संयुक्त राज्य अमेरिका सन् २०१८ मा बाहिरिएको थियो ।

सम्झौताले इरानमाथि लागेको प्रतिबन्धहरू हटाएको र यसको बदलामा इरानको परमाणु कार्यक्रममा प्रतिबन्ध लगाइएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उदृत गर्दै इरान, बेलायत, फ्रान्स र जर्मनीबीचको बैठक उपविदेशमन्त्री स्तरमा हुने इरानी सरकारी मिडियाले जनाएको छ ।

ई–३ ले इजरायलले अप्रत्याशित आक्रमण अघि पुनः सुरु भएको इरान र अमेरिकाबीचको वार्ता अगाडि नबढे वा ठोस नतिजा नआए अगस्टको अन्त्यसम्म परमाणु सम्बन्धित संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरू पुनःस्थापित हुने चेतावनी दिएको थियो ।

इरानले शीर्ष इरानी सैन्य अधिकारीहरू, परमाणु वैज्ञानिकहरू र सयौँ सर्वसाधारणको मृत्यु भएको इजरायली आक्रमणमा अमेरिकाको संलग्नता भएको आरोप लगाएको छ । 

तर, अमेरिकी पक्षले इरानका तीन प्रमुख परमाणु स्थलहरूमा आक्रमण गरी ती ‘नष्ट’ गरिएको दाबी गरेको छ । उक्त आक्रमण पछि जुन २४ मा युद्धविराम लागु भएको उल्लेख गरिएको छ ।

इरानी विदेशमन्त्री अराघ्चीले यदि ईयू/ई–३ ले भूमिका खेल्न चाहन्छ भने जिम्मेवार ढंगले काम गर्नुपर्ने र धम्की तथा दबाबका पुराना नीतिहरू, विशेष गरी ‘स्न्याप–ब्याक’, त्याग्नुपर्ने गत साता बताएका थिए । 

इजरायल–इरान युद्ध अघि, ओमानको मध्यस्थतामा पाँच चरणको परमाणु वार्ता भएको थियो । तर, इरानले यसमा युरेनियम परिष्करणजस्ता प्रमुख अवरोधहरू रहेको बताएको छ । पश्चिमी शक्तिहरूले परमाणु वस्तुलाई हतियारमा बदल्नसक्ने जोखिम घटाउने उद्देश्यले शून्य स्तरसम्म पुर्‍याउन चाहेको उल्लेख गरिएको छ ।

तर, इरानी पक्षले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा नागरिक उद्देश्यका लागि मात्र रहेको पनि दाबी गरेको छ । अलजजिरा
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्